बाँसबारी छाला जुत्ता कारखानामा स्थापनाकालदेखि नै काम गरेका बुवा साहिँलो विशंखेको चाहना छोराहरूले जुत्ता सिलाएर जीवन चलाऊन् भन्ने थिएन। त्यसैले उनले ५ छोरा र १ छोरीलाई स्कुल भर्ना गरिदिएका थिए।
काठमाडौँको खहरेस्थित तत्कालीन नाकटी मार्गमा बस्ने मोहनका दाजुभाइले पढाइमा मन लगाएनन्। छोराहरूले पढाइ बिगारेपछि बुवाले जागिर छाडेर पेप्सीकोला चोकमा आफ्नै जुत्ता पसल खोले। त्यही पसलमा मोहनका पाँचै दाजुभाइले काम सिके।
मोहनभन्दा पहिला नै उनका माइला दाजु राम विशंखे बाँसबारी छाला जुत्ता कारखानामा काम गर्न पुगे। दाजु गएपछि मोहन पनि पछि लागे। २०४१ सालमा मोहन पुग्दा त्यहाँको माहोल नै बेग्लै थियो। ‘ठूलो संख्यामा कामदार थिए। हामीलाई लिन र पुर्याउन गाडी आउँथ्यो। हामी दाजुभाइ पेप्सीकोला चोकमा झरेर हिँड्दै आउँथ्यौँ,’ ती दिन बिर्सेका छैनन् मोहनले।
विसं २०२२ मा स्थापना भएको कारखानाको सुरुवातमै मोहनका बुवा त्यहाँ काम गर्न पुगे। उनका बुवाले आफ्ना छोराहरूलाई मात्रै होइन, अरू थुप्रैलाई पनि जुत्ताको काम सिकाए। ‘जुत्ता बनाउन सिक्ने आधाभन्दा धेरै मानिस दलित समुदायका थियौँ,’ मोहन सुनाउँछन्।
काम सिकेका मध्येबाट पनि आधाजसो युवाले बाँसबारीमै रोजगारी पाए। मोहन, जेठा र माइला दाजुले पनि रोजगारी पाए।
अहिले सहिद गंगालाल हृदय केन्द्र रहेको स्थानमा कारखाना थियो। मोहनका दाजुभाइले २०५९ सालसम्मै काम गरे। चीन सरकारको सहयोगमा २०२२ सालमा स्थापना गरिएको कारखाना २०४९ मा निजीकरण गरियो।
‘निजीकरण के भन्नु? हाम्रो गाँस खोस्ने निर्णय थियो त्यो,’ उनको सपाट बुझाइ छ।
हुन पनि कारखाना बन्द भएपछि मोहनका दाजुभाइसँगै थुप्रै कामदारको रोजीरोटी पनि बन्द भयो। रोजीरोटी गुमाउनेमा करिब ११ सय कामदारसँगै मोहन र उनका दाजु राम विशंखे थिए।
आफूले गरीआएको काम गर्न पाऊँ भनेर केही दिन उनीहरूले बालुवाटारस्थित प्रधानमन्त्रीनिवास घेराउ पनि गरे। रोजगारी नखोसिदिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बिन्ती बिसाए।
अघाएको सरकारले भोका पेटको आवाज के सुन्थ्यो र?
उनीहरूको केही लागेन।
सहरभरि काम खोज्दै भौँतारिए।
‘कहिले काठमाडौँको भोटाहिटी, कहिले ललितपुरको सुन्धारातिर भौँतारियौँ। दाजुभाइले एकै ठाउँमा काम गर्न र पाउन मुस्किल थियो। जसले जहाँ काम पायौँ त्यही गर्नुपर्ने भयो,’ पुराना दिन सम्झिरहेका छन् मोहन।
छनलाई उनीहरूको काठमाडौंमा सानो झुप्रे घर र अलिकति मकै फल्ने बारी त थियो। तर, जीवन धान्न पर्याप्त थिएन। त्यतिबेलासम्म उनका बुवा पनि काम गर्न नसक्ने भइसकेका थिए। भएको पसल पनि बेचिसकेकाले परिवारको गुजारा चलाउन मुस्किल भयो।
सबै दाजुभाइको विवाह भयो। परिवार फैलिँदै गयो। मोहनका दाजुभाइले जीवन धान्नका लागि फरकफरक बाटो समाते। उनका कान्छा भाइले सानो चिया पसल सञ्चालन गरे। जेठा दाजुले किराना पसल थापे। मोहन र रामले भने आफ्नै पेसालाई निरन्तरता दिए।
त्यसो त मोहनका दाजुभाइले कारखाना बन्द भएपछि जीवन धान्नकै लागि काम परिवर्तन गरिरहे। कहिले पर्स बनाउने ठाउँमा काम गरे। कहिले ज्याला मजदुरी गरे। टिक्न र जीवनयापन गर्न सबैतिर गाह्रो थियो।
काठमाडौंका पसल चहार्दै मोहनले ६ वर्ष गुजारे। उस्तै काम गर्ने मानिस एकैपटक एउटै सहरमा ११ सयभन्दा धेरै बेरोजगार भएका थिए। ती सबै मोहनजस्तै कामको खोजीमा थिए। सर्वसाधारणदेखि नेपाल प्रहरी र नेपाली सेनाले लगाउने जुत्तासमेत निर्माण गर्ने कामदारले काम गुमाएका थिए।
‘काम पाएको ठाउँमा पनि चाँडै पुग्नेले मात्रै काम गर्न पाउँथ्यो,’ मोहन सम्झिन्छन्, ‘जसले सुरुमा गएर जुत्ता बनाउने साँचो लिन सक्यो, उसैले त्यो दिन काम गर्न पाउँथ्यो। साँचो नभेट्नेले त्यो दिन खाली हात फर्किनुपर्थ्यो। म आफैं पनि कयौंपटक खाली हात फर्किएको छु।’
यसरी काम खोजेर हिँड्ने धेरैजसो दलित समुदायका थिए। घरेलु तथा साना उद्योग कार्यालयले तालिम दिएर यो जनशक्ति तयार गरेको थियो। ‘त्यहाँ काम गर्ने दलित र गैरदलित बराबरी थिए,’ मोहनको अनुभव छ, ‘तर, मैले जसरी काम खोज्दै हिँड्नेचाहिँ धेरै दलित समुदायकै भेटिन्थे। कारखाना बन्द भएपछि हामीजस्ता श्रमिकको रोजगारी गुम्यो र कामको खोजीमा भौतारिनु पर्यो। माथिल्लो तहका मुख्य व्यक्तिले भने त्यहाँबाट बाहिर आएपछि फिट राइट, लेदर विङ्सलगायतका निजी कारखाना खोलें। उनीहरूले हामीजस्तो समस्या झेल्नुपरेन।’
एक दिन मोहनले आँट गरे। केही ऋण, केही आफैंले जोहो गरेको पैसा लगानी गरेर पुनः पसल सुरु गरे।
पुरानो सिनामंगल चोक (हाल पेप्सीकोला) मन्दिरनजिकै पसल सुरु गरेका मोहनले ख्यातिसँगै राम्रै आम्दानी पनि गरे। अंशमा पाएको जग्गा बेचे, खहरेमै घर बनाए। परिवारिक खर्च ठिकैसँग चलिरहेको थियो। तर, पछिल्लो समय उनले बनाएका जुत्ताका ग्राहक घटेका छन्।
‘पहिलाजस्तो अहिले हामीले बनाएका जुत्ताका ग्राहक नै छैनन्,’ उनी भन्छन्, ‘स्कुले बच्चाका लागि अलिअलि बिक्री हुन्छन्। पहिलाजस्तो मानिसहरू फाटेका जुत्ता सिलाएर लाउन पनि छोडिहाले। हाम्रो उही जुत्ता बनायो, ग्राहक कुरेर बस्ने काम भएको छ।’
हुन त उनीसँग काठमाडौंमा घर छ। दुईटा कोठा भाडामा लगाएका छन्। तर, कयौँपटक छाक टार्न मुस्किल परेको अनुभव पनि छ। ‘कोठा सधैं भाडामा लाग्दैन,’ उनको दुःखेसो छ, ‘खाली भए पनि घरबेटीको जात हेरेर डेरा बस्ने र जात हेरेर कोठा दिने चलन अझै छँदै छ।’
छोराले जिमखानाका सामान मर्मत गर्छन्। मोहनलाई भने उनको कामको पनि खासै भर लाग्दैन। भन्छन्, ‘मेरो काम यही हो। काठमाडौंमा घर हुने धनी मान्छे हुन् भन्छन्। घरले खान दिँदैन। कतिपटक अड्कलेर खाएर हिँडेको मेरै परिवार हो।’
कोरोनाकालपछि मोहनले पेप्सीकोला चोकबाट आफ्नै घरमा पसल सारे। त्यसपछि उनको व्यवसाय झन् धर्मरायो। खहरेको भित्री चोकमा रहेको उनको घरको एउटा कोठामा जुत्ता सिलाउने मेसिन छ। मेसिन वरिपरि चाङ लागेर बसेका छन्, जुत्ता बनाउने साँचो। मोहन त्यही कोठामा कच्चा पदार्थ जोरजाम गरेर जुत्ता सिलाइरहेका छन्।
उनले सिलाएका जुत्ता कोठाको र्याक र भित्ताभरि सजाएर राखेका छन्। तयार पारिएका जुत्ता ग्राहक कुरिरहेका छन्। त्यही कोठामा बसेर मोहन सुस्केरा फाल्दै भन्छन्, ‘सायद हामीले हाम्रो उत्पादनको प्रचारप्रसार पो गर्न सकेनौँ कि?’
Shares
प्रतिक्रिया