ad ad

समाज


नगरपालिकाको आर्थिक सहयोग लिन जब फर्जी बिहे गरेर मेयरलाई झुक्याइयो

वडाअध्यक्षकै मिलेमतोमा सहायता दुरुपयोग प्रयास
नगरपालिकाको आर्थिक सहयोग लिन जब फर्जी बिहे गरेर मेयरलाई झुक्याइयो

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०८० बिहिबार १८:१५, काठमाडौँ

रौतहटको मौलापुर नगरपालिका वडा नं. ९ मा फर्जी विवाहका लागि नगरको आर्थिक सहयोग लिने प्रयास असफल भएको छ। 

मौलापुर नगरपालिकाले छोरीको विवाहमा 'असहायके साथ मेयर' कार्यक्रम अन्तर्गत ३० हजार आर्थिक सहयोग गर्दै आएको छ। 

मौलापुरकी मेयर रिनाकुमारी साहको पहलमा यो योजना लामो समयदेखि कार्यान्वयन हुँदै आएको छ। यस योजनाबाट सयौँ परिवारले लाभ लिएका छन्। 

वडाको सिफारिसमा पालिकाले निर्णय गरेर उक्त आर्थिक सहयोग गर्दै आएको छ। 

त्यही क्रममा मौलापुर नगरपालिका–९ का वडा अध्यक्ष श्यामकिशोर साहले स्थानीय महिन्द्रराय यादवकी छोरी सञ्जुकुमारीको विवाह हुने भएकाले पालिकाको निर्णयअनुसार अनुदान सहयोग उपलब्ध गराइदिन सिफारिस गरेका थिए। 

वडाअध्यक्ष साहले गत पुस १८ गतेको मितिमा उक्त सिफारिस पालिकामा गरेका थिए। 

माघ २५ गते यादवकी छोरी सञ्जुको विवाह रौतहटको बृन्दावन नगरपालिका बौहरी निवासी ब्रह्मदेव राय यादवको छोरासँग भइरहेकाले पालिकाबाट दिइँदै आएको ३० हजार सहयोग उपलब्ध गराउन वडाअध्यक्ष साहले सिफारिस गरेका थिए। 

वडाअध्यक्ष साहको सिफारिसका आधारमा पालिकाको निर्णयबाट उक्त रकम दिने निर्णय पनि भयो। 

नगरपालिकाका लेखापालले ३० हजार रुपैयाँ बराबरको चेक पनि सञ्जुका बुवा महिन्द्रको नाममा काटे। तर जब उक्त चेक लिएर मेयर साह महिन्द्रको घरमा पुगिन् तब उनी झस्किइन्। 

महिन्द्रको घरमा कुनै विवाह कार्यक्रम नै भएको थिएन। वडाअध्यक्षले फर्जी सिफारिस गरी उक्त रकम आफैँ लिएर खान खोजेको देखिएको नगरपालिकाले जनाएको छ। बिहे नै नभएको पाइएपछि मेयर साहले उक्त चेक नगरपालिकामै फर्काइन्।

वडाअध्यक्षले फर्जी विवाहको सिफारिस गरी नगरपालिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग खान खोजेपछि स्थानीयले विरोध गरेका छन्। 

उनीहरुले वडाअध्यक्ष साहलाई कारवाहीको मागसमेत गरेका छन्। सर्वसधारण, गरिव परिवारलाई नगरपालिकाले गर्दै आएको सहयोग रकम हिनामिना गर्न फर्जी सिफारिस गर्ने वडाअध्यक्षलाई कडा कारवाही हुनुपर्ने माग स्थानीयले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .