ad ad

समाज


बीपीमा सहमतिः अन्तर्वार्ता सुचारु गर्ने, कर्मचारी काममा फर्किने

बीपीमा सहमतिः अन्तर्वार्ता सुचारु गर्ने, कर्मचारी काममा फर्किने

नेपालखबर
माघ २७, २०८० शनिबार १८:१३, काठमाडौँ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी र प्रशासनबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै कर्मचारीहरू करिब एक महिनादेखिको दबाबमूलक कार्यक्रम फिर्ता लिएर काममा फर्किन तयार भएका छन्।

कर्मचारीहरू बढुवाको माग राखी प्रदर्शनमा उत्रिँदा गत पुस २९ देखि प्रतिष्ठानका कामकारबाही प्रभावित भएका थिए।

विगत १५ वर्षदेखि समयसापेक्ष रूपमा हुनुपर्ने वृत्ति विकास (पदोन्नति) नभएको कारण व्यवस्थापनलाई दबाब दिने उद्देश्यले भद्र अवज्ञा गरिरहेको र प्रतिष्ठानको कार्यकारिणी समितिले स्थगित अन्तर्वार्ता पुनः अगाडि बढाउने निर्णय गरेकोले काममा फर्किन तयार भएको शिक्षक तथा कर्मचारी कल्याण समाजले संयुक्त विज्ञप्तिमार्फत् जनाएका छन्। 

यस्ता छन् सहमतिका बुँदा-

१. मिति २०७१/०९/२० तथा २०७९/१०/२५ मा प्रतिष्ठानद्वारा प्रकाशित विज्ञापनबमोजिम सुरु भई स्थगित रहेको अन्तर्वार्ता २०८०/११/०६ गतेबाट सुरू गरी संलग्न तालिकाबमोजिम सम्पन्न गर्ने, सोको नतिजा अन्तर्वार्ता समाप्त भएको मितिले १ हप्ताभित्र प्रकाशित गर्ने।

२. भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरूप्रति प्रतिष्ठान व्यवस्थापन पक्षबाट पूर्वाग्रह राखी कुनै पनि प्रकारको कारबाही नगर्ने/नगराउने।

३. भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीउपर भविष्यमा कुनै पनि प्रकारको कानुनी झैझमेला आइपरेमा प्रतिष्ठानले आवश्यक साथ सहयोग गर्ने।

४. वर्तमान परिस्थितिका कारण विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई गम्भीरतापूर्वक मनन गर्दै तत्कालै पठनपाठन सुचारू गर्ने र त्यसबाट भएको क्षतिलाई आपसी समझदारीमा न्यूनीकरण गरिने । साथै भविष्यमा पठनपाठनको कार्यमा असर पुग्ने गरी कुनै गतिविधि नगर्न/नगराउन सबै सरोकारवाला पक्ष प्रतिबद्ध रहने।

५. शिक्षक तथा कर्मचारीहरूको जारी भद्र अवज्ञा आजकै मितिबाट स्थगित गरी आ-आफ्नो नियमित कार्यमा संलग्न हुने।

६. विद्यार्थीहरूको जारी रिले अनसन तथा सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू आजैका मितिदेखि अन्त्य गरी नियमित पठनपाठनमा सहभागी हुने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .