प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले विमानस्थलमा अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई पुरस्कृत गरेकोबारे छानबिन भइरहेको बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्।
कर्मचाहरूसँगको कुटाकुटपछि विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएकोबारे पूर्वगृहमन्त्री रवि लामिछानेले सोधेपछि कुवँरले प्रष्टिकरण दिएका हुन्।
‘विमानस्थलका डीआईजीको राजीनामा आएको हो। तर राजीनामा स्वभाविक रुपमा आएको हो वा होइन भन्ने प्रश्न छ’, उनले भने, ‘उहाँ मेरो ब्याचमेट पनि हो। अहिले उहाँ बिदामा हुनुहुन्छ।’
उनले हाल बिदामा रहेका ठकुरीले आफू मातहतका तीन प्रहरीलाई पुरस्कृत गरेको विषयमा छानबिन पनि भइरहेको बताए।
‘केही प्रहरीलाई पुरस्कृत गरेको भन्ने मिडियामा आएको छ’, उनले भने, ‘हामी छनबिन गर्दैछौँ। उहाँबारे यति नै हो कुरा।’
ठकुरीले प्रहरी नायब निरीक्षक (सई) प्रकाश चौधरी, सहायक निरीक्षक (असई) सञ्जय तामाङ र जवान रविजंग गुप्तालाई पुरस्कृत गरेका थिए।
चौधरीलाई १ हजार २००, तामाङलाई १ हजार १०० र गुप्तालाई ८०० रुपैयाँसहित पुरस्कृत गरिएको थियो। पुरस्कारको विवरण अभिलेखमासमेत जनाउन राष्ट्रिय प्रहरी किताब खानामा पठाइएको थियो।
Shares
प्रतिक्रिया