ad ad

समाज


भ्रष्टाचार मुद्दा चलेपछि अध्यागमनका महानिर्देशक तामाङ निलम्बित

भ्रष्टाचार मुद्दा चलेपछि अध्यागमनका महानिर्देशक तामाङ निलम्बित

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०८० सोमबार १३:१, काठमाडौँ

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित भएका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्। 

तामाङ निलम्बनमा परेसँगै गृह मन्त्रालयले अध्यागमनमा नयाँ महानिर्देशक पठाउने तयारी गरेको छ। ‘अध्यागमनजस्तो महत्वपूर्ण कार्यालयमा प्रमुख रिक्त राख्ने कुरा भएन।

आज भोलि नै नयाँ महानिर्देशक पठाउने गरी छलफल भइरहेको छ’, गृह मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीसहित १५ जना कर्मचारी र तीन वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो। 

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङले ११ करोड, ९ लाख १७ हजार ४५८ रुपैयाँ ८८ पैसा भ्रष्टाचार गरेको आरोप छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम १० वर्षसम्म कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असूल हुन समेत मागदाबी लिइएको छ।

सरकारी सम्पत्ति हानी नोक्सानी गराएर निर्माण व्यवसायीलाई फाइदा पुर्‍याएको र बैंक जमानीबाट असुल गरी सोमा लाग्ने ब्याज ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ ८८ पैसा असुल नगरेको आरोप तामाङमाथि छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .