आज (सोमबार) राति देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाले सोमबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।
Shares
प्रतिक्रिया