नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी छ।
जसका कारण आज (शनिबार) राति पनि देशका केही स्थानमा पानी तथा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति लुम्बिनि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) र बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा (आकास खुला) रहने छ।
यस क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
मौसम महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ, ‘गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै कोसी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
Shares
प्रतिक्रिया