बुधबार राति काठमाडौं मलअगाडि फुटपाथका व्यापारीहरूमाथि दमन गर्ने क्रममा काठमाडौं महानगर प्रहरीबाट एकजना पत्रकारसमेत कुटिएका छन्।
काठमाडौंका नगर प्रहरीले पत्रकार पदम पोखरेलमाथि निर्घात कुटपिट गरेका हुन्।
नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पोखेललाई समाचार संकलनका क्रममा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेकोमा विभिन्न संगठनले आपत्ति जनाएका छन्।
पोखरेल बुधवार साँझ काठमाडौंको सुन्धारामा महानगर प्रहरीले सडक व्यापारीहरूलाई बलपूर्वक हटाइरहेको दृश्य खिचिरहेका थिए।
भिडिओ खिचिरहेको अवस्थामा पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले पत्रकार पोखरेललाई कुटपिट गरेका हुन्।
कुटपिटका क्रममा उनको मोबाइल फोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरू नगर प्रहरीले खोसेर लगेको महासंघले जनाएको छ।
'नागरिकलाई सुसूचित गराउने जिम्मेवारी बहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको यो हर्कत निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादति हो', महासंघका महासचिव रोशन पुरीले भनेका छन्, 'महासंघ घटनामा संलग्न नगर प्रहरीलाई कारबाहीको दायरामा ल्याउन तथा संविधानप्रदत्त प्रेसको अधिकारको ख्याल गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न र जफत गरिएका सामाग्री फिर्ता गर्न सम्बन्धित निकायसँग माग गर्दछ।'
Shares
प्रतिक्रिया