ad ad

समाज


दुर्गा प्रसाईंलाई सिंहदरबार वृत्तको हिरासतमा लगियो

दुर्गा प्रसाईंलाई सिंहदरबार वृत्तको हिरासतमा लगियो

नेपालखबर
असोज ८, २०८१ मंगलबार १९:३२, काठमाडौँ

आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राखिने भएको छ। यसअघि वीर अस्पतालमा बस्दै आएका प्रसाईंलाई मंगलबार बेलुका भने सिंहदरबार प्रहरी वृत्तको हिरासतमा लगिएको हो।

यसअघि स्वास्थ्यको समस्याका कारण भन्दै वीर अस्पतालमा भर्ना भएका प्रसाईंलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेसँगै उनलाई प्रहरी वृत्त लगिएको छ।

‘अस्पतालले डिस्चार्ज गर्ने प्रक्रिया गरेपछि उनलाई आजबाट हिरासतमै राख्ने तयारी गरिएको हो। तर अहिलेसम्म अस्पतालको डिस्चार्ज पेपर हामीलाई प्राप्त भइसकेको छैन’, साइबर ब्यूरोका एक अधिकारीले भने।

प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं उपस्थित गराएर बयान लिइएको थियो। बयानपछि उनलाई अस्पताल नलगि प्रहरी वृत्त पुर्‍याइएको हो।

विद्युतीय अपराधको कसुरमा प्रसाईं आइतबार पक्राउ परेका हुन्। उनीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले साइबर अपराधको आरोपमा जाहेरी दिएकी थिइन्। आइतबार सोही आरोपमा पक्राउ परेका प्रसाईलाई त्यसै दिन अदालतमा उपस्थित गराइएको थियो।

अदालतले पहिलो पटक उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। तर अदालतले दिएको म्याद मंगलबार नै सकिँदैछ। अब हिरासतमा राख्न परे प्रहरीले बुधबार पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउनपर्छ।

प्रसाईंले भने आफूलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्येक्षिकरणको रिट दायर गरेका छन्। उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले कारण देखाउ आदेश जारी गरेका छन्।

प्रसाईंले रिहाइका लागि अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले रिहाई गर्न अन्तरिम आदेश दिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .