हास्य कलाकार पवन खतिवडा 'म्याकुरी' लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ परेकी उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार अदालतमा उपस्थित गराएको थियो।
उनलाई म्याकुरी उपनामले चिनिने हास्य कलाकार खतिवडामाथि कुटपिटसम्बन्धी घटनाको अनुसन्धानका लागि अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीका रुपमा स्वीकारेर घरमा नराखेको र सम्बन्धविच्छेद पनि गर्न नचाहेको कुरा सामाजिक सञ्जालमा ल्याएपछि पवनमाथि शर्मिलासहितले कुटपिट गरेका थिए।
सुम्निमाको पक्षमा उत्रिएकी शर्मिलासहितले आफूलाई कुटपिट गरेको भन्दै पवनले महाराजगञ्ज बृत्तमा उजुरी दिएका थिए।
त्यस्तै रितु नामकी अर्की युवतीलाई गर्भवती भएको अभिनय गर्न लगाएर शर्मिलाले पवनसँग रकमको मोलमोलाइ गरेको आरोप पनि लागेको छ।
शर्मिलाले सीसीटीभी फुटेज दुरुपयोग गरेको घटनामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
अनुसन्धानमा रहेको विषयमा सम्बन्धित अधिकारीले मात्रै सीसीटीभी फुटेज हेर्न पाइने अवस्थामा शर्मिलाले त्यसलाई सामाजिक सञ्जालमै सार्वजनिक गरिदिएकी थिइन्।
Shares
प्रतिक्रिया