पश्चिमी वायुको प्रभावले यतिबेला (शनिबार बेलुका) देशभरकै मौसम आंशिकदेखि साधारणतया बदली (आकाश बादलले ढाकेको) छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बेलुका कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै कोशी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।
साथै राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ- ‘सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र मधेस प्रदेशसहित बाँकी तराईका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
Shares
प्रतिक्रिया