ad ad

समाज


अध्यागमनका फरार ६ अधिकृत सुटुक्क पुगे अदालतमा, छुटे धरौटीमा

अध्यागमनका फरार ६ अधिकृत सुटुक्क पुगे अदालतमा, छुटे धरौटीमा

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०८० आइतबार १८:५९, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा मुद्दा चलाइएका ६ जना अध्यागमन अधिकृत धरौटी बुझाएर रिहा भएका छन्। 

जिल्ला अदालत काठमाडौंले माघ २३ गते थुनछेकबहसपछि अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको मुद्दाका फरार अधिकृतमध्ये ६ जना जनही ७ लाख रुपैयाँ धरौटी बुझाउँदै रिहा भएका हुन्।

यो प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो थिए। जसमध्ये ६ जनाले फागुन ९ देखि १६ सम्म एक एकजना गर्दै अदालतमा धरौटी बुझाएर रिहा भएका हुन्। 

फरार ७ अध्यागमन अधिकृतमध्ये ताराबहादुर कुँवर मात्रै अदालतमा उपस्थित भएका छैनन्। पक्राउपुर्जी जारी भए पनि किरियामा बसेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थिएन। तर किरिया सकेर भागेका उनी अदालतमा उपस्थित भएका छैनन्।

यो प्रकरणमा पक्राउ परेका अन्य ६ जनासँग पनि अदालतले धरौटी माग गरिएको थियो।

यो मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले अध्यागमन अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

अदालतले त्यसबेला गीता शाहसँग ५ लाख रुपैयाँ, रविन अर्याल र पदम लामासँग १/१ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो। 

भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

उनीहरुले सरकारी कागजात तथा छाप कीर्ते गरेको भन्दै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको माग गरिएको थियो। यस्तै संगठित अपराधको कसुरमा ५ वर्षसम्म कैद र ५ हजार रुपैयाँ जरिवानको माग गरिएको थियो।

गत माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।

उनको साथबाट रामेछापको दोरम्बा गाउँपालिका–७ का ट्राभल एजेन्ट पदम लामाले दिएको दुई लाख रुपैयाँसमेत बरामद भएको थियो। त्यपसपछि उक्त प्रकरणको छानबिनमा अरु पनि तानिएका थिए। 

खड्काकै बयानबाट ८ जना अरु अध्यागमन अधिकृतविरुद्ध पनि मुद्दा चलेको थियो। अनुसन्धानका क्रममा खड्का र लामाको मिलेमतोमा भिजिट भिसामा विदेश उडाइएका दर्जनौँ युवाको सूची प्रहरीले भेट्टाएको थियो। 

अध्यागमन विभागका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको सेटिङ मिलाउँदा तीन करोड बढी घुस लिएको खुलासा अनुसन्धानबाट भएको थियो। 

काठमाडौँ प्रहरी परिसरले भिजिट भिसाका नाममा भएको सरकारी कागजात किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धानका क्रममा उक्त कुरा पत्ता लगाएको थियो। 

उक्त प्रतिवेदन अनुसार भिजिट भिसामा विदेश जाने नेपालीलाई नक्कली कागजातका आधारमा पास गराउँदा पुरुषबाट १७ हजार र महिलाबाट ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेका खुलेको थियो।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयबाट करिब १७ सय जनाका नक्कली कागजात बरामद गरेर अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो।

तिनै कागजातका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले अध्यागमन विभागका ९ जना अधिकृत, ट्राभल एजेन्सी सञ्चालक, होटल सञ्चालक र अन्य बिचौलियाको संलग्नता रहेको पत्ता लगाएको थियो। 

काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका १ पैदिमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एन्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, स्याङ्जाको वालिकाङका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका थिए।

यस्तै सिनामंगलको होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, बाराको सिमराकी २३ वर्षीया कौशिला मगर, सोलुखुम्बु घर भई मुलपानी बस्ने ४० वर्षीया लक्ष्मी राई र सिन्धुलीको कमलामाई नगरपालिकाकी ३४ वर्षीय रीता दमाईविरुद्ध पनि मुद्दा चलाउने राय प्रहरीले दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .