ad ad

समाज


एक महिनाअघि नै मनाइएको ल्होसारको बिदा आज किन? यसो भन्छ गृह मन्त्रालय

एक महिनाअघि नै मनाइएको ल्होसारको बिदा आज किन? यसो भन्छ गृह मन्त्रालय

नेपालखबर
फागुन २८, २०८० सोमबार १२:५८, काठमाडौँ

शेर्पा समुदायको ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइसकिए पनि सरकारले आज बिदा दिएको भनेर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। सम्बन्धित समुदायका संघसंस्थाले पनि आज बिदा दिइएकामा आश्चर्य प्रकट गरेका छन्। 

चाडपर्व र अन्य प्रकारका सार्वजनिक, उत्सव र उर्दीको व्यवस्थापन गृह मन्त्रालयले गर्छ। नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ मा यो कुरा उल्लेख छ।

गृह मन्त्रालयले वर्षभरि दिइने बिदाको सूची नै राजपत्रमा प्रकाशित गरी सार्वजनिक जानकारी दिन्छ। आउँदो २०८१ वैशाख १ देखि चैत मसान्तसम्मका लागि गत माघ २९ गते नै बिदा तय गरी सूचना प्रकाशित गरिसकिएको छ।

त्यसो भए ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले के आधारमा बिदा दियो त?

नेपालखबरले यो प्रश्न गर्दा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘यो निर्णय अपर्झट आज भएको होइन। एक वर्षअघि नै तय भएको हो। आज आएर यो किन विवाद गरिँदै छ, थाहा भएन। अहिलेसम्म औपचारिकरूपमा कसैले गुनासो पनि गरेको छैन।’

शेर्पा समुदायभित्रै दुईथरी मत भएकाले पनि अहिले विवाद भएको हुन सक्ने उनको अनुमान छ।

उनी भन्छन्, ‘उहाँहरूभित्र पनि दुईथरी मत हुन सक्छ। सम्बन्धित समुदायका तर्फबाट समयमै जानकारी प्राप्त नभएको पनि हुन सक्छ।’
के गृह मन्त्रालयसँग यसबारे अध्ययन गर्ने संयन्त्र छैन?

भट्टराई भन्छन्, ‘मन्त्रालयले पनि सम्बन्धित सरोकारवालाको सल्लाह र समन्वयनमा नै यो निर्णय गरेको हो। पञ्चांग निर्णायक समिति आदिसँग पनि समन्वय गरिएको हुन्छ।’

नेपाल राजपत्रअनुसार, आउँदो वर्षको ग्याल्पो ल्होसारको बिदा सरकारले फागुन १६ गते दिएको छ। 

यस्तै तमु ल्होसारको पुस १५ र सोनम ल्होसरको माघ १७ गते बिदा तोकिएको छ।

नेपाल राजपत्रमा २०८१ को पर्व बिदासम्बन्धी सूचना

गुरुङ, तामाङ र शेर्पाहरूले मनाउने नयाँ वर्ष (ल्होसार)लाई क्रमशः तमु, सोनम र ग्याल्पो ल्होसार भन्ने गरिएको छ। यो गतेका आधारमा नभई तिथिका आधारमा तय हुने संस्कृतिविद्हरू बताउँछन्।

भोटचन्द्र पात्रो हेर्न जान्ने सम्बन्धित क्षेत्रको विज्ञसँगको सल्लाहमा सही तिथिमिति राखेर बिदा घोषणा गर्न आग्रह गरिएको भए पनि सरकारले त्यसको वास्था नगरेको शेर्पा समुदायको गुनासो छ।

हेर्नुहोस् नेपाल शेर्पा संघको विज्ञप्ति


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .