पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरुङ (जोन) विरुद्ध १ सय ३८ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउने निर्णय भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो।
गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँबराबरको बिगो कायम गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ। सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरिसकेकाले शुक्रबार अभियोगपत्र अदालतमा दर्ता गराइने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए। त्यसमा अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो सुन अवैध तरिकाले ओसारेको पत्ता लागेको थियो।
घलेले दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरिरहेको भेटिएको थियो। उक्त समूहका मीन घले, कृष्णकुमार श्रेष्ठलगायतले दुबईबाट सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो।
विमानस्थलमा सेटिङ मिलाउने काम डीबी भनिने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको थियो।
विमानस्थलबाट सुन बाहिर निकाल्न नागरिक उड्ययन कार्यालयका प्राविधिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखाका सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको पनि संलग्नता देखिएको थियो।
काठमाडौँको बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा सुन भण्डारण गरी गन्तव्यमा पठाउने काम गरिरहेको पत्ता लागेको थियो।
अंकित अग्रवालले भनेको स्थानमा सुन लगिदिने काम मीन घले र जोन भन्ने जीवन गुरुङले लगिदिने गरेका थिए।
तर पर्वत घर भएका जीवन गुरूङ पूर्वउपराष्ट्रपतिसम्म पहुँच बनाएका व्यक्ति भएकाले अनुसन्धानको दायरामा ल्याइएको थिएन। अनुसन्धान गर्ने निकायको नजरमा उनी फरार थिए।
भन्सार कार्यालयले ताकेता गरेपछि प्रहरीले गुरुङलाई फागुन १४ गते पक्राउ गरेको थियो। ६२ वर्षीय जीवनकुमार गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक पनि हुन्।
मीनसँगको टेलिफोन सम्पर्कका आधारमा जीवनको संलग्नता पत्ता लागेको थियो। सुरूमा उक्त मोबाइल नम्बर आफ्नो होइन भन्ने जिकिर लिएका गुरूङ थिए। तर, भन्सार विभागले फोन नम्बर पुष्टि गर्न उपराष्ट्रपति कार्यालयमा पत्राचार गरेको थियो। उपराष्ट्रपति कार्यालयले जीवनले नै चलाइरहेको नम्बर भनेर प्रमाणित गरिदिएपछि जीवन गलेका थिए।
जीवनले मीनसँग सामान्य चिनजान मात्र रहेको र दोहोरी साँझमा गइरहने भएकाले भेट भएको बयान दिएका छन्। तर, जीवन सुन तस्करको गिरोहसँग प्रत्यक्ष संलग्न रहेको र त्यही धन्दा चलाउन उपराष्ट्रपतिसँगको पहुँचको दुरूपयोग गरी राज्यसंयन्त्रलाई समेत प्रभावित पारेको अनुन्धानको निष्कर्ष छ।
Shares
प्रतिक्रिया