कृषकहरूलाई दु:ख दिएपछि बाँदरलाई बन्ध्याकरण गर्ने प्रविधि सिक्न नेपाली पशु चिकित्सक र वन रक्षकको टोली आइतबार भारत जाने भएको छ।
भारत सरकारको सहयोगमा हिमाचल प्रदेश जान लागेको १५ सदस्यीय टोलीलाई शुक्रबार प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले बिदाइ गरिन्।
यो टोलीमा ११ जना भेटेरेनरी डाक्टर र चारजना फरेस्ट रेन्जर छन्। समितिमा बाँदरआतंकबाट पीडित किसानबाट नियन्त्रणको पहल गरिदिन उजुरी आएपछि सभापति डा. देउवाले समन्वय गरेर टोली भारत पठाएकी हुन्।
टोलीमा पशु चिकित्सकहरू मनोज महतो, रञ्जित अधिकारी, बब्लु ठाकुर, अनन्त कोइराला, हरिनारायणप्रसाद थारू, भीमप्रसाद तिमिल्सिना, विनोद कठायत, सुलेश्वर मण्डल, विशाल चन्द, विकास गिरी र चन्द्रकला राना छन्। रेन्जरतर्फ अक्षय चौधरी, पुरनदेव मिश्र, दीपककुमार चन्द र खिमराज ओली छन्।
समितिले काठमाडौंस्थित भारतीय दूतावासलाई पत्र लेखेर सभापति राणाले तालिमको व्यवस्था मिलाएकी हुन्। यो टोली हिमाचलको सिम्लास्थित बाँदर बन्ध्याकरण केन्द्रमा पुग्नेछ।
बन्ध्याकरणबाट बाँदरको संख्या दुई–तीन वर्षमा घट्दै जाने भारतको उदाहरण रहेको उनले बताइन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ससचिव रेवतीरमण पौडेलले बाँदर आतंक नियन्त्रण गर्न सजिलो नभएको बताए। किसानको बाली नष्ट गरिरहेका बेला सीप आदान–प्रदानले राहत दिन सक्ने उनले बताए।
समितिका उपसचिव शिवदत्त बरालका बब्लु ठाकुरको नेतृत्वमा नेपाली टोली आइतबार दिल्ली हुँदै चण्डीगढ पुग्नेछ।
यो टोली पाँच दिन सिम्लामा रहनेछ। टोली दिल्ली हुँदै ११ चैतमा स्वदेश फर्किने तालिका छ। नेपाली टोलीको सबै खर्च भारतले व्यहोर्ने छ, कर्मचारीलाई भत्ता पनि भारतले नै दिने छ।
Shares
प्रतिक्रिया