पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो गुनासो राखेका छन्।
पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमबाट बाहिरिने क्रममा उनीहरूले प्रधानमन्त्रीलाई भेटेका हुन्।
जीबी राई सञ्चचालक रहेको सूर्यदर्शन सहकारी हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि जोडिएका छन्।
सहकारी पीडितहरूले हिनामिना भएको बचत रकम फिर्ता गराइदिन पनि माग गरेका छन्।
उनीहरूले सहकारी प्रकरणमा वर्तमान गृहमन्त्री लामिछाने पनि जोडिएकाले छानबिनको मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।
सूर्यदर्शनका बचतकर्ताको बचत हिनामिना गरेर फरार भएका जीबी राईलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। त्यही समस्या समाधानमा चासो दिन भनिएको संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।
त्यसक्रममा प्रधानमन्त्रीले पीडितहरूलाई न्याय दिलाउने बचन दिएका थिए।
उनीहरूले भेटका क्रममा सूर्यदर्शन सहकारीका प्रमुख जीबीलाई तत्काल पक्राउ गरी बचतकर्ताको समस्या समाधान गरिदिन भनेका छन्।
श्रेष्ठका अनुसार प्रधानमन्त्रीले जसरी भए पनि जीबीलाई समातेर पीडितहरूको समस्या समाधान गर्ने प्रयास भइरहेको जवाफ दिएका थिए।
प्रधानमन्त्रीले नयाँ नीति निर्माण गरेर पनि सहकारीको समस्या समाधानमा सक्रिय हुने बताएका छन्।
यसअघि गत माघ ९ गते पोखराका सहकारीपीडितले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि ज्ञापनपत्र बुझाएका थिए।
त्यसपछि गत माघ १२ गते तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर उनीहरूले बचत फिर्ता गरिदिन भनेका थिए।
ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राईको समूहद्वारा सञ्चालित सूर्यदर्शन सहकारीले पोखराका बचतकर्ताको डेढ अर्ब भन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेको छ।
पोखरा महानगरपालिकाका अनुसार सूर्यदर्शनले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको पाइएको छ। त्यसपछि बचतकर्ताहरू प्रहरीमा पुगेका थिए।
प्रहरीले पीडितहरूको उजुरीका आधारमा अनुसन्धान गरेपछि जीबीसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। यस प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ परेर थुनामा छन्।
यस प्रकर०मा बचतकर्ताहरूले गत माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिाछानेसहित १८ जना व्यक्ति र कम्पनीविरुद्ध पूरक जाहेरी दिएका थिए।
उक्त जाहेरीका आधारमा रविविरुद्ध पनि प्रहरीले छानबिन अघि बढाएको थियो। तर फागुन २१ गते रवि गृहमन्त्री भएसँगै उक्त प्रकरण ओझेलमा पर्ने चिन्ता जनाउँदै बचतकर्ताले प्रचण्डलाई भेटेका हुन्।
Shares
प्रतिक्रिया