पछिल्लो विभिन्न विवादमा मुछिँदै आएका दुर्गा प्रसाईं भारत पुगेका छन्। उनी बुधबार भारतको मुम्बुई पुगेका हुन्।
यही सोमबार सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित प्रसाईंका दुईजना सहयोगी पक्राउ परेका थिए।
पक्राउ परेका दुवैजनाविरूद्ध प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको छ।
लाइसेन्स प्राप्त हतियार संवेदनशील क्षेत्रमा बोकेको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका छन्। खड्काको नाममा हतियार बाहक लेखेको अवस्थामा धिमालले बोकेपछि दुवैलाई पक्राउ गरेर अहिले सिंहदरबार बृत्तमा राखिएको छ।
यो हतियारको लाइसेन्स भने दुर्गा प्रसाईंको नाममा जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ। यो प्रकरणमा प्रसाईं आफैं पनि प्रहरीको अनुसन्धान घेरामा छन्।
‘म विशेष कामले भारतको मुम्बई आएको छु। सम्पूर्ण अभियन्तालाई आफ्नो काममा डटेर लाग्न अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘हामी विशेष कामले भारतको मुम्बई आएकाले सम्पूर्ण अभियान्ता साथीहरूलाई चैत २४ गते दाङको कार्यक्रम सफल पार्न डटेर लाग्न अनुरोध छ। यताको काम सकेर छिट्टै फर्किने जानकारी गराउँछौँ।’
प्रसाईं भारततिर लागेपछि दाङमा २४ गते गर्ने भनिएको कार्यक्रमको तयारी रोकिएको छ। यद्यपि उनले उक्त कार्यक्रम भब्य बनाउने बताएका छन्।
Shares
प्रतिक्रिया