ललितपुर महानगरपालिका-२६ ढोलाहिटी, राजकुलो ओसिस मार्गमा गएराति भएको भनिएको ‘ग्याङ फाइट’मा ज्यान गुमाएका दुईजना युवकमाथि होटल सञ्चालकले नै छुरा प्रहार गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।
आइतबार राति करिब ११ बजे ढोलाहिटीस्थित डी पोपिना होटलमा भएको झगडाका क्रममा ज्यान गुमाएका दुवै युवकमाथि होटल सञ्चालकमध्ये एक खोटाङका विजय राईले छुरा हानेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको हो।
‘अहिलेसम्मको अनुसन्धानका क्रममा ज्यान गुमाएका दुवै युवकमाथि होटल सञ्चालक विजय राईले छुरा हानेको देखिएको छ’, अनुसन्धानमा संलग्न ललितपुर प्रहरी परिसरका एक अधिकारीले भने, ‘सुरुमा ‘ग्याङ फाइट’ भनिएको उक्त घटना यवाहरू र होटल सञ्चालकको विवादले उग्र रुप लिँदा भएको प्रारम्भिक निष्कर्ष आएको छ।’
उक्त घटनाका क्रममा पाँचथर घर भई हाल खुमलटार बस्ने २९ वर्षीय पुजन राई र सुनसरीको धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबश राईले वज्यान गुमाएका थिए।
घटनापछि गम्भीर घाइते बनेका दुवैजनालाई तत्कालै अस्पताल लगिएको थियो। पाटन अस्पतालमा भर्ना गरिएका रोबसले उपचारका क्रममा त्यहीँ ज्यान गुमाए। उता सुमेरू अस्पतालमा उपचारका क्रममा पुजनको ज्यान गयो।
कसरी भयो घटना?
आइतबार काठमाडौं उपत्यका होलीको रौनकमा व्यस्त थियो। काठमाडौं, ललितपुर र भक्तपुरका टोल टोलमा होली मनाउने युवा युवती सडक, गल्ली र चोकमा निस्केका थिए। कयौँ ठाउँमा डिजेसहित सांस्कृतिक कार्यक्रम र नाचगान पनि भएको थियो।
दिनभर होली मनाएपछि पाँचथरका पुजन राईको समूह विजय राईसमेत सञ्चालक रहेको उक्त होटलमा छिरेका थिए।
त्यहाँ छिरेका उनीहरू मादक पदार्थसहित खानेकुरा खान व्यस्त थए। पुजनको समूह खानपिनमा व्यस्त भइरहेका बेला धरान घर भएका रोबसका भाइ र साथीहरू पनि उक्त होटलमा छिरे।
होटलमा छिरेपछि उनीहरू पनि मादक पदार्थसहित खानपिनमा लागे। त्यही क्रममा पुजन र रोबशका भाइ तथा साथीहरूबीच विवाद सुरु भयो।
यी दुई समूहबीच विवाद बढ्दै गएपछि होटल सञ्चालकले घर जानु भने उठाएर निकाल्न खोजे। तर दुई पक्षबीच विवाद चलिरह्यो। विवादबीच खानपिन गरेर बसिरहेका भाइ र साथीहरूले रोबशलाई होटलमा झिकाए।
भाइ र साथीहरूले बोलाएपछि रोबश पनि होटलमा आइपुगे। त्यसपछि त्यहाँ विवाद झनै बढ्यो। एकजना प्रहरी अधिकारीका अनुसार रोबशले होटल सञ्चालक विजय राईलाई 'मेरा भाइहरूलाई थर्काउने' भनेपछि विवाद त्रिपक्षीय भएर उग्र रुप लियो।
रोबश पनि आएर थर्काएपछि आक्रोशित भएका होटल सञ्चालक चक्कुसहित निस्किए। उनले होटलकै चक्कु निकालेर सबैभन्दा पहिले पुजन राईको तिघ्रामा प्रहार गरेको एकजना प्रहरी अधिकारीले बताए।
उनका अनुसार पुजनलाई सुरुमा चक्कु हानेका विजयले नै आफूलाई थर्काएका रोबशमाथि त्यही चक्कुले हाने।
विजयले चक्कु हानेपछि पुजन र रोबश त्यहीँ ढले। उनीहरू दुवैजनालाई आफन्त र साथीभाइले अस्पतालतिर लगे।
संलग्न खोजिँदै
प्रहरीले अहिलेसम्म उक्त घटनामा संलग्न भएको आशंकामा १८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये उक्त घटनामा संलग्नको पहिचान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका होटल सञ्चालक विजय राईसहित सबैजनालाई अहिले चापगाउँ प्रहरी बृत्तको हिरासतमा राखिएको छ। पक्राउ परेकामध्ये संलग्नहरूको पहिचान गरिसकेपछि जाहेरी लिने तयारी प्रहरीले गरेको छ।
उक्त घटनाको अनुसन्धान अघि बढाउन प्रहरीले जिल्ला अदालत ललितपुरबाट मंगलबार म्याद लिने तयारी गरेको छ।
होटल सञ्चालक राई पक्राउ परिसकेकाले अब उक्त घटनामा संलग्न अन्यमाथि अनुसन्धान जारी छ। ढोलाहिटीमा भएको यो घटनालाई सुरुमा दुई समूहबीचको झगडा भनिएको थियो। तर प्रहरीको अनुसन्धानले चक्कु प्रहार गर्ने होटल सञ्चालक भएको प्रारम्भिक निष्कर्ष आएको हो।
Shares
प्रतिक्रिया