ad ad

समाज


वुहानबाट फर्कने विद्यार्थी भन्छन्ः जेलबाट मुक्त भएजस्तै लागिरहेछ

वुहानबाट फर्कने विद्यार्थी भन्छन्ः जेलबाट मुक्त भएजस्तै लागिरहेछ

यज्ञराज जोशी
फागुन ३, २०७६ शनिबार ९:१०,

कोरोना भाइरस (कोभिद १९)को संन्त्रास फैलिनुअघि वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा अध्ययनरत जनकपुरका चन्द्रभूषण यादव बस्ने ७ तल्ले होस्टेलमा विभिन्न देशका १ सय ५० जना विद्यार्थी थिए। होस्टेलमा निकै नै चहलपहल हुन्थ्यो।

तर, वुहानलाई कोरोना भाइरसले ग्रस्त बनाएपछि एकपछि अर्को गर्दै होस्टल रित्तिन थाल्यो। चिनियाँहरु पनि त्यो शहर छाडेर हिँडे। विभिन्न देशले आ–आफ्ना नागरिकलाई फिर्ता लगे। चन्द्रभूषण बस्ने छैटौं तल्लाका १५ कोठा मान्छेविहिन भए। होस्टेल सुनसान भयो, सिंगो होस्टलमा उनी एक्ला नेपाली थिए।

‘मेरा लागि यो होस्टल जेल जस्तो भइसकेको थियो। एक्लै बस्दा निकै डर लाग्थ्यो,’ वुहानबाट नेपालखबरसँगको सम्पर्कमा आएका यादवले आफ्नो अनुभव सुनाए।

हाल चीनमा मात्रै १५ सय २३ को ज्यान लिइसकेको र ६६ हजार बढी संक्रमित भइसकेका कोरोना भाइरसको उद्गमस्थल वुहानमा चिनियाँ सरकारले संक्रमण नफैलियोस भनेर कडा निर्देशन जारी गरेको थियो।

सरकारको निर्देशन अनुसार त्यहाँ रहेका कोलनी, होस्टललगायत एउटा घरबाट अत्यावश्यक सामान किन्न हप्तामा एक जनामात्रै बाहिर निस्कन पाउथे। बजर, यातायात ठप्प थियो। कोठामा एक्लै हुँदा यादवलाई थुनावा बसेजस्तो लागेको थियो।

‘यहाँको हालत अहिले पनि निकै खराब छ। निकै अप्ठ्यारो परिस्थितिबाट ढिलै भए पनि नेपाल फर्कन पाउँदा खुसी लागिरहेको छ,’ शनिबार राति नेपाल आउन लागेका उनले खुसी व्यक्त गर्दै भने।

झण्डै एक महिना लामो रस्साकस्सीपछि अन्ततः नेपाल सरकारले चीनको हुबेइमा रहेका नेपालीलाई स्वदेश ल्याउन आज (शनिबार) नेपाल वायु सेवा निगमको वाइडबडी जहाज त्यसतर्फ प्रस्थान गर्दैछ। यसअघि चीनस्थित नेपाली राजदूतावासमा नेपाल फर्कन चाहनेमा नाम दर्ता गरेका यादवसहित वुहानबाट १८५ नेपालीलाई स्वदेश ल्याउन लागिएको हो।

शनिबार दिउँसो पौने ३ बजे चीनतर्फ उड्ने जहाज राति ९ बजे (चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। वुहानबाट स्थानीय समयअनुसार राति ११ बजे नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

यस्तै हुवाजोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा एमडी गरिरहेका जागरनाथ साह पनि नेपाल फर्कने पाउने भएपछि निकै उत्साही छन्। ‘यहाँ निकै खराब अवस्था भइसकेको थियो। निकै डरैडरमा बाच्नुपरेको थियो। शनिबार फर्कने पाउने भएपछि मलगायत सम्पूर्ण नेपालीहरु निकै उत्साहित छौं,’ उनले भने।

एयरपोर्टमा जम्मा हुँदैछन् नेपालीहरु
नेपाली दूतावासको निर्देशनअनुसार नेपाल फर्कन चाहने हुबेई प्रान्तको वुहानलगायतका शहरका नेपालीहरुलाई ६ घण्टा अगावै विमानस्थल पुगिसक्न भनिएको छ। विमानस्थलबाट टाढाका सहरमा रहेका नेपालीलाई शनिबार बिहानैदेखि बसले बोक्न शुरु गरिसकेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले बताए।

‘सबै नेपालीहरुलाई बसको रुट, सम्पर्क व्यक्ति लगायत आवश्यक सम्पूर्ण विवरण दिइएको छ,’ उनले भने, ‘टाढा रहेका नेपालीहरु बिहानैदेखि बसमा हिँडिसकेका छन् भने नजिक हुने पनि हिँड्नेक्रममा छन्।’

विभिन्न विश्वविद्यालय तथा होस्टलहरुलाई बसस्पटका रुपमा प्रयोग गरिएको छ। बसमा चढ्नुअघि मास्क, पञ्जा लगायत सुरक्षा सामग्रीहरु प्रयोग गर्न निर्देशन अनुसार आफूहरु यात्राका लागि तयार रहेको वुहान विश्वविद्यालयमा पीएचडी गरिरहेका नेपाली विद्यार्थी अशोक साहले भने।

‘हामीहरु मास्क, पञ्जालगायत आवश्यक सुरक्षा सामग्रीहरुका साथ तयार भएर बसेका छौं। चिनियाँ समयानुसार दिउँसो ३ बजे हाम्रो बस आउनेछ र हामी एयरपोर्टका लागि प्रस्थान गर्नेछौं,’ साहले भने।

साहका अनुसार भाइरस फैलिने खतराका कारण बसमा एक अर्कासँग नबोल्न भनिएको छ। बसमा चढ्नुुअघि र एयरपोर्टमा पनि शरीरको तापक्रमको जाँच हुने उनले बताए। शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियसभन्दा माथि भए शंकास्पद मानिने भएकाले उनीहरुलाई चीनकै अस्पतालमा राखेर उपचार गरिने यसअघि नै टुंग्गो लागिसकेको छ।

तालिम केन्द्र तयार
आइतबार बिहान त्रिभुवन विमानस्थलमा उत्रिने नेपालीहरुलाई सरकारले भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा चारवटा ब्लकमा राख्ने तयारी गरेको छ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले सरकारले चीनबाट ल्याइने नेपालीहरु राख्ने उक्त तालिम केन्द्र तयारी अवस्थामा रहेको बताए। स्वास्थ्य मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिहरुको संयुक्त टोलीले तालिम केन्द्रमा काम गर्नेछ।

बिडारीका अनुसार सो तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ। वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन्। ‘तर, जोडीहरुको हकमा सँगै बस्न दिइने छ, किनभने उहाँहरु उता पनि सँगै नै बसिरहनुभएको छ,’ बिडारीले नेपालखबरसँग भने।

त्यहाँ खटिने स्वास्थ्यकर्मीको टोलीलाई एउटा ब्लक छुट्याइएको छ भने नेपालीलाई लिन जाने विमानका चालक टोलीलाई नगरकोटको खानेपानी कार्यालयमा राखिने योजना छ। चीनबाट आउने नेपालीलाई त्यहाँ राख्दा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तय गरेको दूरी लगायतका मापदण्ड अनुशरण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .