उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको विषय आफ्ना लागि अत्यन्तै महत्त्वपूर्ण सवाल भएको बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा उनले निर्मला पन्तको विषय गम्भीर भएको उल्लेख गरे।
लामिछानेले देशकै लागि निर्मलाको परिवारले न्याय पाउनुपर्ने पनि बताएका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो।
महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट उनकै गाउँ उल्टाखामको उखुबारीमा फेला परेको थियो।
त्यसबेला स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको भन्दै छानबिन माग गरेका थिए। प्रहरीविरूद्ध भएको प्रदर्शनमा गोली लागेर एक युवकको मृत्यु भएको थियो।
त्यसपछि भदौ ७ गते सरकारले उक्त घटना छानबिनका लागि विशेष समिति गठन गरेको थियो। छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको थियो। त्यो घटना टुंगो लगाउन प्रहरीले कयौँ अनुसन्धान टोली बनाए पनि अझै अनुत्तरित छ।
Shares
प्रतिक्रिया