बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन्।
पीडितहरूबाट रकम लिए पश्चात विदेश नपठाई सम्पर्कविहीन भएकोमा पिडीतहरूले दिएको जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने वर्ष ३६ को मिङमार लामा रहेका छन्।
उनले क्रोएसिया पठाउने भन्दै आमान बोम्जनबाट तीन लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
यस्तै, लम्जुङको मध्य नेपाल नगरपालिका–५ घर भई हाल ललितपुर मगरगाँउ बस्ने वर्ष ३६ कै प्रकाश वंशी ठकुरी रहेका छन्। उनले पोर्चुगल पठाइदिने भन्दै पीडितबाट ११ लाख २७ हजार रुपैयाँ ठगी गरेको आरोप छ।
उनलाई विशाल चौहान समेत ३ जनाको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।
ठकुरीले पोर्चुगल पठाइदिन्छु भनि ठगी गरेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया