हाल (बिहीबार साँझ) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ। साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहने छ।
यस क्रममा राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
साथै राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार पनि मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो कोसी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
यसैगरी शुक्रबार राति पनि देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाले बिहीबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया