नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसर पारेर गर्न लागिएको जुगल हिमाल आरोहण टोलीलाई सोमबार बिहान काठमाडौँबाट बिदाई गरिएको छ।
जुगल हिमाल रहेको सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध, बागमती पदेस सभा सदस्यद्वय सरल सहयात्री र अमृता नेपालले आरोहण टोलीलाई एक कार्यक्रमकाबीच शुभकामना दिएर बिदाई गरे।
यस अघि शनिबार विहान प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बालुवाटारमा तीन नेपाली र सात कोरियाली आरोहीलाई दुबै देशको झण्डा हस्तान्तरण गरेर शुभकामना दिएका थिए।
विदाईसँगै आरोहण टोली संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल आरोहणका लागि सिन्धुपाल्चोक प्रस्थान गरेको छ।
आरोहण टोलीलाई बलेफी गाउँपालिकाले बलेफी बजारमा स्वागत गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष गंगा बहादुर तामाङले जानकारी दिए। टोलीलाई आजै जुगल हिमशृङखला रहेको जुगल गाउँपालिकाले स्वागत गर्ने छ।
जुगल हिमालमा विदेशी पर्वतारोहिले औपचारिक आरोहण गर्न लागेको यो पहिलोपटक हो । आरोहणको सम्पूर्ण तयारी पूरा गरेर टोलि गन्तब्यतर्फ प्रस्थान भएको आरोहण दलका सदस्यसमेत रहेको पर्यटन अभियन्ता मिलन तामाङले जानकारी दिए।
आरोहण दलका सदस्यहरु काठमाडौंबाट अरनिको हाइवे हुँदै बलेफी, नौविसे, जलविरे सडकबाट जुगलको ढाँडे पुग्ने छन् । त्यहाँ जुगल गाउँपालिकाले आरोहीहरुलाई स्वागत गर्ने कार्यतालिका रहेको पालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिए।
आरोहण दलले जुगल हिमशृङ्खलामा रहेको ६५९१ मिटरको ‘जुगल– १’ र ६५१८ मिटरको ‘जुगल २’ नामका चुचुराको आरोहण गर्ने छ । दुबै चुचुरामा यसअघि आरोहण भएको छैन । यही चैत ८ गते बसेको मन्त्रि परिषद बैठकले दुबै हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको थियो।
यस अघि २०७५ चैत १५ गते गएको एक आरोहण दलले २६ चैतमा जुगल हिमशृङ्खला अन्तरतगतको हिमाल सफल आरोहण गरेको थियो । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा गएको टोलीले जुगल हिमालको चुचुरामा प्रथम पाइला राखेको थियो।
त्यसबेला ६ हजार १ सय २६ मिटर अग्लो ग्याल्चेन पीक नाम गरेको चुचुरोको सफल आरोहण भएपछि जुगल हिमालबारे चर्चा सुरु भएको थियो।
Shares
प्रतिक्रिया