उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भीषण आगलागीबाट क्षतिग्रस्त काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय गोदाम निरीक्षणका लागि पुगेका छन्।
सोमबार साँझ सशस्त्र प्रहरी अस्पतालनजिकै रहेको केन्द्रीय गोदाममा आगलागी हुँदा ठूलो क्षति भएको छ।
उनी गृह मन्त्रालयका अधिकारी र काठमाडौं जिल्लाका सुरक्षा अधिकारीसहित आगलागी भएको सशस्त्रको गोदाम निरीक्षणमा पुगेका हुन्।
उनलाई सशस्त्रका अधिकारीहरूले बन्द रहने उक्त स्टोरमा विद्युत सर्ट भएर आगाे लागेकाे प्रारम्भिक जानकारी दिएका छन्।
त्यसक्रममा गृहमन्त्रीले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट घटनाको जाँच गर्न निर्देशन दिएका छन्। उनले सशस्त्र प्रहरीलाई एक छानबिन समिति बनाउन पनि सुझाएका छन्।
यस्तोमा सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले एआईजीको संयोजकत्वमा समिति बनाएर जाँच थालिसकेको जानकारी दिएका छन्।
तर सशस्त्र प्रहरीले उक्त गोदाममा भएको क्षतिको विवरण सार्वजनिक गरिसकेको छैन। भीषण आगलागी हुँदा पनि नजिकै रहेका बस्तीका अरु घर भने सुरक्षित छन्।
सशस्त्र प्रहरीले यहाँ लत्ता कपडा, जुत्ता, मण्डी, म्याट्रेस र चुस्तासहितका सामान राखेको थियो। स्टोरका लागि मात्रै प्रयोग गरिने यो ठाउँमा सामान निकाल्दा मात्रै खोलिन्थ्यो।
शभरका युनिटहरूमा पठाइने जिन्सी सामान आपूर्ति गर्ने उक्त स्टोरमा विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।
उक्त आगो नियन्त्रणका लागि उपत्यकाका ८ वटा दमकलसहित दर्जनौँ ट्यांकर र सबै निकायका सुरक्षाकर्मी परिचालन गरिएको थियो।
उक्त स्टोरमा जिन्सी सामान मात्रै भएकाले सशस्त्र प्रहरीका महत्वपूर्ण कागजपत्र भने जोगिएका छन्।
सशस्त्र प्रहरीका कारोबार र खरिदका सबै कागजपत्र हलचोकस्थित मुख्यालयमा सुरक्षित छन्।
Shares
प्रतिक्रिया