काठमाडौँको चन्द्रागिरी नगरपालिका, बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारमा सोमबार साँझ लागेको आगलागीको छानबिन गर्न गृह मन्त्रालयले बेग्लै समिति बनाएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमबार नै सशस्त्र मुख्यालयका कार्य विभाग प्रमुख एआईजी वंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरे पनि त्यसको २४ घण्टा नबित्दै गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गर्दै बेग्लै समिति बनाएका हुन्।
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका हुन्। समितिमा सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुष्मा श्रेष्ठ छन्।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, बलम्बु घटनाको क्षतिको विवरण, आगलागीको कारण, भण्डारमा आगलागी तथा अन्य विपदजन्य जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी एवं आगामी दिनमा यस्तो घटना घट्न नदिनका लाग गर्नुपर्ने सुधार लगायतका विषयमा सत्यतथ्य छानबिन गरी १० दिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।
Shares
प्रतिक्रिया