गृह मन्त्रालय र मधेस सरकार (गृह, सञ्चार तथा कानून मन्त्रालय)को संयुक्त आयोजना जनकपुरमा मधेस प्रदेशस्तरीय सुरक्षा गोष्टी सुरु भएको छ।
बुधबार बिहान गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको अध्यक्षतामा सुरु भएको गोष्ठीको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरेका छन्। गोष्ठी आजै सकिने छ।
गोष्ठीमा मधेस प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित जिल्ला सुरक्षा समितिका सदस्य सहभागी छन्।
तीन सत्रमा बाँडिएको गोष्टीमा आठै जिल्लाका प्रजिअले आफू नेतृत्वको जिल्लाको बस्तुस्थिति ब्रिफिङ गर्ने कार्यक्रम छ। त्यस्तै, सहसचिवद्वय नारायणप्रसाद भट्टराई र राजेन्द्रदेव पाण्डेले गृह मन्त्रालयको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नेछन्।
गोष्ठीमा नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँबरले निर्देशन मन्तव्य राख्ने कार्यक्रम छ।
शान्ति सुरक्षा, सेवा प्रवाह, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, जनगुनोसो सम्बोधनलगायतका क्षेत्रमा संघीय र प्रदेश सरकारका निकायबीच समन्वय र सहकार्यलाई थप मजबुद बनाउन गोष्ठीले योगदान गर्ने विश्वास गृहमन्त्रालयका अधिकारीहरुले गरेका छन्।
गोष्ठीको समापन सत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर, मधेस सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, मुख्यमन्त्री सरोजकुमार यादव र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने कार्यतालिका छ।
Shares
प्रतिक्रिया