काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले नेतृत्व लैङ्गिकतासँग नभई व्यक्तिको क्षमता र सिद्धान्तअनुसार फरक हुने बताएकी छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले नेतृत्व लैङ्गिकतासँग नजोडिने बताएकी हुन्।
‘हरेक व्यक्तिको क्षमता र सिद्धान्तअनुसार नेतृत्व फरक हुन्छ। तर महिला आउनेबित्तिकै यो हुन्छ। पुरुष आउनेबित्तिकै यो हुन्छ भन्ने हुँदैन,’ उनले भनिन्, ‘ महिला नेतृत्वमा आउँदा के फरक हुँदो रहेछ भन्नेबारे अध्ययन अनुसन्धान पनि गरिएको हुन्छ।’
अध्ययन तथा अनुसन्धानमा महिलाहरूले मनले सोच्ने र प्रतिबद्धता बढी गर्ने देखाएको उनले बताइन्। महिलामा सुक्ष्म व्यवस्थापन क्षमता बढी हुनेसमेत उनले बताइन्।
संविधानले नै स्थानीय तहको प्रमुख र उपप्रमुखको जिम्मेवारी, अधिकार छुट्याइएको उनले बताइन्।
कार्यकारी अधिकार भने मेयरलाई मात्रै दिइएको भन्दै उनले गुनासो गरिन्।
निर्वाचित भएर आएका उपप्रमुख कार्यकारी अधिकारबाट बञ्चित हुनु विडम्बनापूर्ण रहेको उनको भनाइ छ।
‘संविधानले अधिकार र जिम्मेवारी तोकेको छ। यद्यपि मेयर र उपमेयर दुवै जनताको भोटबाट निर्वाचित भएर आउने हो,’ उनले भनिन्, ‘उपप्रमुखलाई कार्यकारी अधिकार नहुनु चुनौती पनि हो।’
संविधानले स्थानीय सरकारमा न्याय, अनुगमन, बजेट तर्जुमा, राजस्वलगायत महत्त्वपूर्ण जिम्मेवारी उपप्रमुखलाई नै दिएको उनले बताइन्।
संविधानको सिद्धान्तअनुसार समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा काम गरे स्थानीय तहले घर-घरमा विकासको अनुभूति दिलाउन सक्ने डंगोलको तर्क छ।
Shares
प्रतिक्रिया