आज (मंगलबार) राति पनि देशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले मंगलबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाश २६ प्रतिशतदेखि ५० प्रतिशतसम्म बादलले ढाकेको र बाँकी सफा रहेको अवस्था हो। साधारणतया बदली भनेको चाहिँ सम्बन्धित क्षेत्रको आकाश ५१ देखि ७५ प्रतिशतसम्म बादलले ढाक्नु र बाँकी खाली रहेको अवस्था हो। अनि मुख्यतया सफा भनेको २५ प्रतिशतसम्म मात्र आकाशमा बादल र बाँकी सफा रहेको अवस्था हो।
मौसम महाशाखाको बुलेटिनअनुसार यस क्रममा आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कर्णाली, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यसैबीच काठमाडौँ उपत्यकामा पनि राति पानी पर्ने सम्भावना देखिएको छ। महाशाखाले काठमाडौँमा पानी पर्ने सम्भावना थोरै २० प्रतिशत रहेको जनाएको छ।
यस्तै राति देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Shares
प्रतिक्रिया