कास्कीको पोखरामा आज (बिहीबार) बिहान दुई सवारी साधन आपसमा ठोक्किँदा नेपाल भ्रमणमा रहेका ८ जना चिनियाँ नागरिक घाइते भएका छन्।
माइक्रोबस र जिप आपसमा ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका हुन्।
बिहान करिब पौने पाँच बजे पोखराको होटल ग्रान्डबाट पोखराकै साराङकोट तर्फ जाँदै गरेको चिनियाँ नगरिक सवारी सवार बा १ च ८५१ नम्बरको हायस र बा १३ च ५१३७ नम्बरको स्कार्पियो आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय पोखराका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।
‘राष्ट्र बैंक चोकमा दुई सवारी आपसमा ठोक्किएका हुन्,’ डीएसपी शर्माले नेपालखबरसँग भने, ‘हायसमा सवार १३ चिनियाँ नागरिकमध्ये दुर्घटनामा ८ जना घाइते भएका छन्। उहाँहरुको अवस्था खतरामुक्त छ।’
घाइते सबैको गण्डकी मेडिकल कलेजमा उपचारका भइरहेको उनले जानकारी दिए।
दुर्घटनापछि स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र हायसका चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेकाे छ। स्कार्पियोमा भने चालक मात्रै रहेकाले मानवीय क्षति भएको छैन।
सोही दुर्घटनामा परेर सडक छेउमा पार्किङमा रोकिराखेको बा २१ प ११५२ नम्बरको स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको डीएसपी शर्माले बताए।
दुबै सवारी साधनका चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा राखेर कारबाही प्रक्रिया अघि बढाएको छ।
Shares
प्रतिक्रिया