स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर सुरक्षाको प्रत्याभूति माग गरेकी छन्।
रामहरि श्रेष्ठको हत्या आरोपमा कालीबहादुर खाम पक्राउ परेपछि आफूमाथि थ्रेट आएको भन्दै उनले सुरक्षा माग गरेकी हुन्। जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिए।
घटनाको १६ वर्षपछि आरोपित पक्राउ पर्दा न्यायको आस जागेको भन्दै रमिलाले राजनीतिक पहुँचको आधारमा पक्राउ परेका खाम तत्कालै छुट्ने हो कि भन्ने आशंका व्यक्त गरिन्। जवाफमा गृहमन्त्री लामिछानेने अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने भन्दै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गरे।
मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दल छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट पारे। माओवादी केन्द्र नेतृत्वको सरकारका बेला सोही दलका नेता खामविरुद्ध कारबाही हुनेमा श्रेष्ठले शंका व्यक्त गरेकी थिइन्।
छोरालाई लिएर गृह मन्त्रालय पुगेकी श्रेष्ठले लामो समयपछि भए पनि आरोपित पक्राउ गरेकोमा मन्त्री लामिछानेलाई धन्यवाद दिइन्।
रामेछाप घर भई काठमाडौँको कोटेश्वरमा व्यवसाय गरी बसेका रामहरि श्रेष्ठको २०६५ मा हत्या भएको थियो।
२०६५ वैशाख १५ गते नियन्त्रणमा लिएर श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको तेस्रो डिभिजन शिविरमा पुर्याइएको थियो।
अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो।
माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनको सम्पर्क कार्यालय कोटेश्वरस्थित रामहरिको घरमा खोलिएको थियो।
सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको थियो। घटना छानबिनका लागि भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ। थापा खामकै अंगरक्षक थिए।
गोविन्द बटाला जिल्ला र उच्च अदालतबाट दोषी ठहर भए पनि सर्वोच्चको संयुक्त इजलासबाट उनले सफाइ पाएका छन्। उक्त फैसलाविरूद्ध सर्वोच्चले नै पुनरवलोकन हुने गरी निस्सा जारी गरेको छ।
खाम भने बल्ल पक्राउ परेका हुन्।
Shares
प्रतिक्रिया