ललितपुरको ढोलाहिटीमा चैत ११ गते होलीको दिन भएको घटनाको अनुसन्धान सकेर मुद्दा अदालत लगिएको छ। दुई समूहबीको बिबादमा पाँचथरका २९ वर्षीय पुजन राई र सुनसरीको धरानका २८ वर्षीय रेबश राईको हत्या भएको थियो।
हत्यामा संलग्न रहेको अभियोगमा ५ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ। प्रहरीले उक्त घटनामा ६ जनाविरुद्ध मुद्दा चलाउन राय दिए पनि सरकारी वकिल कार्यालयले शुसिल राईलाई भने मुद्दा नचलाउने निर्णय गरेको छ।
यो घटनामा मुख्य प्रतिवादी खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका विजय राईलाई बनाइएको छ। ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने होटल सञ्चालकसमेत रहेका ३१ वर्षीय विजयले नै दुवै युवालाई चक्कु प्रहार गरेको निष्कर्ष प्रहरीले निकालेको छ।
विजयलाई आजिवन कैदको माग गरिएको छ। बयानका क्रममा विजयले आफूले रेवशको हत्या गर्नै चक्कू प्रहार गरेको तर आफ्नै साथी पुजनलाई भने झुक्किएर लागेको बताएका छन्।
२०८० चैत ११ गते होली पर्वको दिन थियो। करिब बेलुकाको ८ बजेको समयमा ललितपुर महानगरपालिका २६ ढोलाहिटी राजकुलोमा रहेको डी पपिना होटलमा पुजन राई, सुलब राई, विशाल हाङ मुकारूङ राई, प्रदिप राई, राजु गुरूङ र विजय राई बियर खाएर बसिरहेका थिए।
उनीहरुले ६÷७ बोतल गोर्खा स्ट्रोङ वियर खाएर रमाईलो गरिरहेका थिए। जीवन भन्ने शुसिल राई पनि त्यहीँ थिए। तर उनले वियर नखाई गफ सुनेर बसिरहेका थिए।
त्यहीबेला बाहिरबाटै मादक पदार्थ सेवन गरी छेन्वीहाङ राईसहित उनका साथीहरू विराट राई, नाम्नुहाङ राई र अनन्त राई होटलमा पुगे। अनि, उनीहरुले सोधे– साहिल श्रेष्ठ खोई ? तर साहिल श्रेष्ठ त्यहाँ थिएनन्।
साहिललाई नभेटेपछि रक्सी मगाए। उनीहरु बाहिरै रक्सी खाएर मातिसकेकाले होटल सञ्चालक विजयले रक्सी छैन भनेर दिएनन्।
छेन्वीहाङले त्यसपछि विगतमा साहिल श्रेष्ठसँग मनमुटाव भएको विषय उठाए। बिशाल हाङ मुकारूङ राईसँग उनको त्यही विषयमा झगडा सुरु भयो।
त्यसपछि विजय र सुशिलले दुवै जनालाई सम्झाई बुझाई गरी होटलबाट बाहिर निकाले। केही परसम्म पठाएर उनीहरु होटलमै फर्किए।
बिशाल हाङ मुकारू राई, सुलब राई, जिवन भन्ने शुसिल राई, प्रदिप राई, पुजन राई, राजु गुरूङ र विजय होटलको सटर बन्द गरेर भित्र बसिरहेका थिए।
त्यसपछि पसलको हिसाब किताब गरिरहेको विजयले बयानमा बताएका छन्। सोही होटलमा काम गर्ने सोनु राईचाँहि सटर बन्द गरेर घर गइसकेकी थिइन्।
बेलुका करिव पौने १० बजेतिर बाहिरबाट ठूल–ठूलो स्वरमा कराउँदै होटलको बन्द सटर खोलेर रेवस राई, छेङ्वीहाङ राई, विराट राई, नाम्नु हाङ राई र अनन्त राई भित्र पसे।
रेवस राईले भने – मेरो भाईहरूलाई हेपेर, होच्याएर कुरा गर्ने को–हो?
रेवसलाई विशालले सम्झाउन खोजे। तर रेवस उनीमाथि नै जाइलागे। सुलव र विजयले पनि सम्झाएर पठाउन खोजे। तर रेवस मानेनन्। आफ्ना भाइहरुलाई रक्सी नदिएको र हेपेको भन्दै उनी अझै आक्रोसित भए।
रेवसले हातपात गर्न थालेपछि आफू भित्र भान्सामा गएर चक्कू लिएर आएको विजयले बयान दिएका छन्।
‘रेवस राईलाई हान्न भनि बाहिर निस्कदै गर्दा उक्त होटलको ढोका नजिकै बसिरहेको साथी पुजन राई, सुलब राई र विशाल राई समेतले मलाई रोक्ने प्रयास गरेपछि साथीहरूलाई मैले धकेल्दै हुत्याउँदै अगाडी बढ्न खोज्दा मैले बोकेको चक्कुले पुजन राईको बायाँ तिघ्रामा गहिरो चोट लाग्न पुग्यो। उ सोही ठाउँमा ढलेपछि सुलब राई समेतका साथीहरूले होटलको काउण्टरमा रहेको कुर्सीमा लगि राखेको थियो’, विजयले बयानमा भनेका छन्।
त्यसपछि झन आक्रोसित हुँदै विजय बाहिर निस्कँदा होटल बाहिर रेवस राई लगायत उनको समूह अगाडी सडक बाटोमै हल्ला खल्ला गरिरहेका थिए।
विजय बाहिर निस्किएपछि रेवस राई उनलाई आक्रमण गर्न अघि बढे। त्यसपछि विजयले आफ्नो हातमा भएको चक्कूले रेवशलाई प्रहार गरे।
छातिमा चक्कू लागेपछि रेवश बाटोमै ढले।
त्यतिबेला होटल भित्र रहेका घाईते पुजन राईभन्दा बाहेक सवै जना बाहिर निस्किसकेका थिए। रेवश ढलेपछि भने आफूलाई एकदमै डर लागेको र चक्कू त्यहीँ फ्याँकेर राजु गुरुङलाई आफ्नो बुलेट मोटरसाइकलको चाबि दिएर मोटरसाइकलको पछाडी बसेर विजय भागेका थिए।
त्यसपछि उनीहरु ललितपुरको ग्वार्कोमा पुगेर केहीबेर बसे। त्यहाँबाट साम्पाङ चोकमा गएर विजयका मामा नाता पर्ने नविन राईको कोठामा गएर राजु र विजय सुते। उनीहरुलाई त्यतिबेलासम्म पुजन र रेवशको मृत्यु भइसकेको भने थाहै थिएन।
त्यसै दिन प्रहरीले विजयलाई पक्राउ गरेको थियो। तर घटनापछि फरार रहेका राजु गुरुङले भने पछि आत्मासमर्पण गरेका थिए।
अब उनीहरुको आइतबारदेखि अदालतमा बकपत्र सुरु हुनेछ। सोमबार थुनछेक आदेश आउने सम्भावना छ।
- ढोलाहिटी हत्या प्रकरण : विजयलाई आजीवन कैदको माग, सुशीललाई मुद्दा नचलाउने निर्णय
- ढोलाहिटीमा २ जनालाई चक्कु प्रहार गर्ने व्यक्ति ‘भगाउने’ गुरुङले गरे आत्मसमर्पण
- संसदीय समितिमा प्रहरी महानिरीक्षक : पहिलेदेखिकै झगडाले ढोलाहिटी घटना
- ढोलाहिटी हत्या: पक्राउ परेकामध्ये ४ जनाविरुद्ध मात्रै मुद्दा चलाउने तयारी
Shares
प्रतिक्रिया