नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’ को उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ।
४० वर्षीया निरुको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ।
झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय श्रेष्ठ विसं २०६४ सालमा हेटौंडामा स्थापित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जमा सुरुदेखि नै आवद्ध रहेर काम गरेकी थिइन्।
विसं २०७२ सालदेखि काठमाडौंको रेडियो थाहा सञ्चार नेटवर्क ९९.४ मेगाहर्जमा आवद्ध रही पछिल्लो डेढ दशकदेखि युवालक्षित कार्यक्रम निर्माण र सञ्चालकका रूपमा कार्यरत थिइन्। त्यस दौरान श्रेष्ठले चितवन र वीरगञ्जको विभिन्न रेडियोमा समेत काम गरेकी थिइन्।
श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु महिला रेडियोकर्मी गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको महासंघले जनाएको छ।
महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा मृतक श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।
Shares
प्रतिक्रिया