नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरूको प्रकाशन तथा प्रसारण नगर्न आम सञ्चार माध्यामहरूलाई आग्रह गरेको छ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आइतबार काठमाडौंमा आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्ने वीभत्स दृश्यहरू भ्युज बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण नगर्न पनि सचेत गराएको छ।
कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर विभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुराहरू जथाभावी प्रकाशन तथा प्रसारण नगर्न सचेत गराए। उनले पक्राउ पर्ने बित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चार माध्यामहरूको ध्यानाकर्षण गराए।
उनले भने, ‘यो कुरा दुर्घटनाको कुरा चाहिँ जस्ताको तस्तै आउने कुराहरू, लाइभ गर्ने कुराहरू चाहिँ नआइदिए हुन्थ्यो भन्ने हामी ल इन्फोर्समेन्ट एजेन्सीको अपेक्षा हुँदो रहेछ। यो कुरा चाहिँ सर्वसाधरणमा पनि जाओस् भनेर भनिएको हो। किनकी यस्ता कुराहरू विभत्स दृश्यहरूले गर्दाखेरी मान्छेमा, समाजमा एकदम नकारात्मक असर पर्छ।’
प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताए।
प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक असर पुर्याउने खालका समाचार प्रसारण गर्न उपयुक्त नहुने तर्क समेत गरे।
Shares
प्रतिक्रिया