राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २३ करोड ७५ लाख रूपैयाँबराबर भ्रष्टाचार गरी अकुत सम्पत्ति जोडेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
यस मुद्दाको अनुसन्धानका क्रममा केही रोचक र गम्भीर तथ्यहरू फेला परेका छन्। सुनील पौडेलले कहिल्यै लोक सेवा आयोगको परीक्षा दिएनन् । तर, विगत २० वर्षदेखि उनी सरकारी पदमा रहे।
पहुँच र भनसुनका भरमा उनको वृत्तिविकासको वेग अनवरत रह्यो।
पौडेल २०६१ जेठ २० मा राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भएका थिए। २०६२ माघ २८ सम्म त्यही पदमा कार्यरत रहे।
यही केन्द्रमा २०६५ असार १२ मा उनी कम्प्युटर इन्जिनियर पदमा फेरि करारमा प्रवेश गरे। त्यसपछिका १० वर्ष उनले यही निकायमा विभिन्न पदमा रहेर काम गरे। २०७५ असार २१ मा केन्द्रको कार्यकारी निर्देशक नै बन्न पुगे। यो राजनीतिक नियुक्तिबाट प्राप्त हुने पद थियो।
२०७८ चैत २४ सम्म यही पदमा रहे।
२०७८ चैत २५ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पद पाए। यो पद पनि उनले राजनीतिक नेतृत्वलाई रिझाएरै प्राप्त गरेका थिए। यही पदमा छँदाछँदै उनीमाथि अख्तियारले गत असोज १५ गते भ्रष्टाचार मुद्दा दायर गरिदियो र उनी निलम्बित भए।
नेसनल पेमेन्ट गेटवे घोटाला प्रकरणमा उनी विशेष अदालतबाट दोषी ठहर भइसकेका छन्। यसमा २३ करोड २७ लाख रूपैयाँ घोटाला भएको छ। यो घोटाला उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रको नेतृत्वमा छँदा भएको थियो।
उक्त घोटालाको अनुसन्धान टुंग्याएपछि अख्तियारले उनको सुनील पौडेलको सम्पत्ति केलाएको थियो। उनको अहिलेसम्मको सबै प्रकारको वैधानिक आय हेर्दा जम्मा १ करोड १९ लाख २४ हजार रूपैयाँबराबर देखिन्छ।
तर, वैधानिक आयभन्दा कयौँ गुणा बढी सम्पत्ति रहेको फेला परेको छ। कतिसम्म भने उनले नेपालमा हुने प्रत्येक ठेक्कापट्टाको कमिसन सिंगापुरको बैंक खातामा जम्मा गर्न लगाउने गरेको पाइएको छ।
उनले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएको अवधिमा आफैँले बोलपत्रहरूको कोटेसन बनाई योजनाबद्ध ढङ्गले आफैले चाहेको आपूर्तिकर्ता डब्लूडीएन, ओबीसीआई, म्याक्स, नेक्स्ट जेन सोलुसन लगायत कम्पनीहरूसँग ठेक्का सम्झौता गरेको पाइएको छ।
स्वदेशी आपूर्तिकर्ताहरूले सोही अवधिमा विदेशी आपूर्तिकर्ता इन्स्टासेफ इंक र बोनकोटेक पीटीई लिमिटेडजस्ता कम्पनीहरूसँग साझेदारी गरी सूचना प्रविधिसँग सम्बन्धित सामानहरू आपूर्ति गर्ने र सो साझेदारीवापत विदेशी कम्पनीहरूले कमिसनवापत उनको सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैंकको खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।
यति मात्र होइन, अन्यत्रबाट संकलित घुस र कमिसन पनि उनले त्यही बैंकबाट ट्रान्सफर गरेको पाइएको छ। उनका सहोदर दाइ अनिल पौडेलमार्फत घरजग्गा लगायतका क्षेत्रमा पनि उनले लगानी गरेको भेटिएको छ।
महँगा गहना, उच्च जीवनस्तर यापन, स्वदेशी बैंकहरूमा रहेको बैंक मौज्दात, विभिन्न कम्पनीहरूको सेयर खरिद, सिङ्गापुरको प्रुन्डेन्सियल कम्पनीमा जीवन बीमाको प्रिमियमवापत तिरेको रकम, निजी तवरमा विभिन्न देशमा भ्रमण गर्दा हवाई यात्रा र अन्य किनमेल, सुन, चाँदी, हीरा, जवाहरत खरिद हेर्दा उनको कुल आम्दानी २४ करोड ९४ लाख ७१ हजार रूपैयाँ हुन आउँछ।
यसमध्ये १ करोड १९ लाख २४ हजारको वैधानिक स्रोत खुले पनि बाँकी सबै अवैध तरिकाले आर्जन गरेको देखिन्छ। आफू कार्यकारी प्रमुख भएका निकायरूमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीहरूसँग मोलमोलाइ गरी कमिसन लिई विदेशी बैंकमा गैरकानुनी रूपमा खाता खोली रकम जम्मा गर्ने, त्यस्तो गैरकानुनी रकम स्वदेशमा र विदेशमा रहेका आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गर्ने गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।
यस्तो स्रोत नखुलेको सम्पत्ति २३ करोड ७५ लाख ४६ हजार रूपैयाँ उनीसँग रहेको पाइएको छ।
Shares
प्रतिक्रिया