उनले केवल चोट, पीडा, अपमान र अभाव पाइन्। माया पाउनुपर्ने परिवारबाट पनि तिरस्कार मात्र पाइन्। गलैँचा कारखानाको बालमजदुर बनिन्। चार दशकको यही भोगाइले उनलाई स्पात बनायो। उनी आजकल धनगढीदेखि काठमाडौँसम्मको रात्रिबस हाँक्छिन्। रेबिका साहने लामो रुटको गाडी चलाउने पहिलो नेपाली महिला हुन्।
रात्रिबस चलाउनुअघि रेबिकाले काठमाडौँमा केही वर्ष ट्याम्पु र थुप्रै वर्ष साझा बस चलाइन्। स्टेयरिङ घुमाउँदा घुमाउँदै उनको उमेर ढल्किन थालेको छ। तर, उनलाई बिस्मात छैन। अफसोस छ त केबल छोरोको ज्यान बचाउन नसकेकोमा अनि अन्तिम घडीमा आमाको मुख हेर्न नपाएकोमा।
बाबुले ४ सयमा बेचिदिएपछि
त्यतिबेला रेबिकाको नाम उर्मिला थियो। उनका बाबु बाग्लुङबाट ४ सन्तान बोकेर बटुवल झरे। उनकी जेठी श्रीमती बाग्लुङमै बितिन्। बुटवल आएपछि उनले दोस्रो विवाह गरे। विवाह गरेको लामो समयसम्म उर्मिलाकी आमाका सन्तान भएनन्। उर्मिलालाई जन्मदिएपछि उनकी आमालाई आफैँले हुर्काएका सौताका छोराछोरीले आँखाको तारो बनाए। आमासँगै सुरु भयो रेबिकाको संघर्षमय यात्रा।
‘आमालाई अर्काे सन्तान नजन्माउने सर्तमा विवाह गर्नु भएको थियो कि झैँ लाग्छ। अहिले आमा हुनुहुँन्थ्यो भने सोध्न हुन्थ्यो,’ उनले आँसु झार्दै सुनाइन्, ‘आमा हुनुहुन्न, सन्तान जन्माएकै कारण किन तिरस्कृत हुनुपर्यो, त्यो कथा पनि आफैँसँग लिएर जानु भयो।’
उर्मिला ११ वर्षकी थिइन्। बुवाले गलैँचा बुन्ने काममा लगाउन उनलाई काठमाडौँ पठाए। त्यसवापत काठमाडौँ ल्याउने ठेकेदारले बुवालाई ४ सय रुपैयाँ दिएका थिए। ‘त्यतिबेला पैसाको कुरा थाहा भएन। अहिले सम्झिँदा मेरो बुवाले मलाई ४ सय रुपैयाँमा बेचेका रहेछन्,’ उर्मिलाले सुनाइन्।
गाउँका उनीजस्तै अरु थुप्रै बालिकाहरू आएका थिए। उनलाई पनि घरमा सौतेनी दाजु र बुवाको कुटाइ, आमामाथि भैरहने ज्यादती हेर्नुभन्दा काठमाडौँ आउनु ठिक लाग्यो। आमाले राति अबेरसम्म अगेनाको आडमा बसेर भनिन्, ‘नानी काठमाडौँ जाँदैछस्, त्यो ठूलो सहर छ भन्छन्। हराउलिस्, विचार गरेर हिँड्नू। कसैले दिएको केही नखानू। आफ्नो ख्याल गर्नु है।’
रातैभर उनलाई छातीमा टाँसेर आमा सुँकसुँकाइरहिन्। आमाको त्यो रोदनमा कति पीडा थियो, उनले बुझ्न सकिनन्।
उनी काठमाडौँ आइन्। बौद्धको एक गलैँचा कारखानामा काम गरिन्। उनका हातभरी ठेला उठ्थे, आमा सम्झिएर रुन्थिन्। चिठी लेख्न उनलाई आउँदैनथ्यो। आमाको सम्झना छातीमै गाँठो पारेर उनले झण्डै ६ महिना काम गरिन्। त्यसपछि गाउँबाट खबर आयो, आमा बिरामी भइन्, तिमी गाउँ जानुपर्ने भयो।
उनलाई गाउँबाट ल्याउने ठेकदारले गाडीमा चढाइदिए। आमा बिरामी भएकै कारण घर फर्किन पाएकी उर्मिला ‘आमाले बिरामी भएर राम्रो गर्नु भयो’ भन्ठान्दै गाउँ पुगिन्।
गाउँ पस्नेबित्तिकै बाटोमै उनका छिमेकीले भने, ‘तिम्री आमा त बितिन् नि नानी!’ उर्मिला बोल्न सकिनन्। अर्की महिलाले भनिन्, ‘आमालाई केही भएको छैन। खुरुखुरु घर जाऊ। अंकलले रक्सी खाएका छन्, जे पनि बोल्छन्।’
उनको मनमा चिसो पस्यो। लुगलुग काँप्दै घर पुगिन्। आँगनमा कोरा बारेर उनकी जेठी आमाका छोरा र बुवा बसेका थिए।
दाजुहरूबाटै हत्याप्रयास
अब उनको कपाल मुसार्दै आँसु झार्ने कोही थिएन। बाबु र दाजुहरूले पिटेका नीलडाम सुमसुम्याउँदै तेल लगाइदिने हात थिएनन्। आमाको काजकिरिया सकिएपछि उनी झन् एक्लो भइन्।
गाउँमा गलैँचा बुन्न मुम्बई लैजाने अर्का ठेकदार पसे। उनी पुनः गलैँचा बुन्न मुम्बई पुगिन्। काठमाडौँमा काम गर्दा उनले पैसा पाइनन्। ठूलाले राम्रो व्यवहार गरेनन्। उनलाई भनियो, ‘मुम्बइमा त पैसा पनि पाइन्छ, ठूलाले माया गरेर काम पनि सिकाउँछन्।’ तर, त्यहाँ पनि भनेको जस्तो भएन। १ वर्षजति काम गरेपछि उनी घर फर्किन्छु भनेर रोइन्। त्यसपछि नेपाल फर्किन्।
घर थियो, बुवा थिए, दाजुदिदी सबै थिए। तर, उनको कोही थिएन। भाउजूहरूले खाना खान समेत दिँदैनथे। उनले बुटवलकै खोला किनारमा गिट्टी बोक्ने काम गरिन्।
‘बच्चा भनेर काम दिनै मान्दैनथे। बल्ल दिए पनि पैसा दिँदैनथे। त्यही पनि खानका लागि काम गर्थें,’ रेबिका अतीतको पोका फुकाउँछिन्।
एकदिन रातको ११ बजेको थियो। उनका ठूला दाजु लिन आए। उनले भने, ‘कान्छो दाइले भेट्न खोजेको छ जा अरे।’
‘यति राति किन भेट्नु पर्यो? भोलि जान्छु,’ उनले जवाफ दिइन्।
‘आफूभन्दा ठूलाले बोलाएपछि खुरुक्क जा न,’ दाजुले हप्काए।
उनी आफू सुतेको घरबाट दाजुको घर पुगिन्। कराईभरि अगेनामा पाकिरहेको मासु, चुलाछेउ बसिरहेकी भाउजू। रेबिकाको मन खुसी भयो। तर, उनको त्यो खुसी क्षणभरमै कष्टमा परिणत भयो, जब दाजुले उनको गला अँठ्याए। उनी चिच्याइन्, ‘गुहार, गुहार।’ दाजुको घरनजिकैको घरका बाजे निदाएका रहेनछन्। उनी दौडिँदै आइपुगे। गाउँलेलाई बोलाए। बहिरबाट ढोका फोडेर भित्र पसे र उनलाई बचाए।
त्यसपछि गाउँलेले नै प्रहरीमा उजुरी गरे। उनका दाजु पक्राउ परे। गाउँलेले घरमा बालिका उर्मिला सुरक्षित नहुने महसुस गरे। गाउँका मानिस उनलाई आफ्नोमा लगेर पनि राख्थे। उनका बुवा र दाजु त्यहीँ पिट्न जान्थे। गाउँले पनि उनको अवस्था देखेर हैरान थिए। हार मानेर गाउँलेहरूले उनलाई बुटलवलमा भर्खर खुलेको चर्चको जिम्मा लगाए।
उर्मिलाबाट रेबिका
उनलाई धर्म थाहा थिएन। भगवान थाहा थिएन। असहाय अवस्थामा उनी चर्चमा पुगिन्। चर्चमा सबैले परमेश्वरले तिमीलाई हेर्नुहुन्छ भनिदिए। उनलाई पनि भरोसा लाग्यो। चर्चमा उनको नामाकरण भयो। उनले नयाँ नाम पाइन्, ‘रेबिका।’
उनका बुवा र दाजुले त्यहाँ पनि सुखले बस्न दिएनन्। कहिले खाँदाखाँदैको भातको थाल मिल्काइदिए। कहिले चर्चको खाँबो उखेल्न गए। त्यसपछि रेबिका पुनः काठमाडौँ आइन्। केही तालिम लिइन्। प्रौढ शिक्षा पढिन्। लेख्न र पढ्न सक्ने भइन। त्यसपछि पुनः बुटवल फर्किन्।
चर्चमा बसेको झण्डै २ वर्षपछि उनको विवाह भयो। वैवाहिक जीवन पनि सुखमय भएन। छोरा विवेक जन्मिए। जसोतसो छोरो डेढ वर्षको बनाएपछि उनी विदेश गइन्। घरेलु कामदारका रुपमा कतार पुगेकी रेबिकालाई देशमा भन्दा परदेशमा सुख थियो। साहु असल परेका थिए। तर छोराको यादले परदेशमा बस्न दिएन।
उनले छोराको एउटा फोटो लिएर गएकी थिइन्। त्यही फोटो हेर्दै रुन्थिन्। ४ महिना बितेपछि उनी टिक्नै सकिनन्। घर फर्किन्छु भनेर रोइन्। साहुले तिम्रो छोरो झिकाइदिन्छु भनेका थिए। रेबिकाको मन मानेन। हिँड्नेबेला साहुले १ लाख रुपैयाँ र एउटा मोबाइल थमाइदिँदै भने, ‘तिमीलाई फेरि आउन मन लाग्यो भने यहीँ आउनू। नेपाल पुगेपछि सिम किनेर मोबाइलमा हाल्नू, कहिलेकाहीँ हामीलाई फोन गर्नू।’
काठमाडौँ झरेपछि उनलाई श्रीमानकहाँ जान मन लागेन। छोरालाई आश्रममाा छोडेकी थिइन्। गएर छोरो मात्रै लिएर आइन्। श्रीमानले खोजी गरेका थिए। ‘अब म तिमीसँग बस्न सक्दिनँ, अर्कैसँग विवाह गरिसकेँ,’ रेबिकाले भनिदिइन्।
त्यसपछि स्टेरिङ
०६० साल सकिनै लागेको थियो। रेबिका गाडी सिक्न थालिन्। ०६१ सालमा टेम्पो र बसको लाइसेन्स लिइन्। काठमाडौंमा उनलाई बाँच्नु थियो। छोरालाई पढाउनु थियो। उनले टेम्पो चलाउन थालिन्। त्यहीँबाट प्रारम्भ भयो रेबिकाको ड्राइभर जिन्दगी।
टेम्पो चलाएर महिनाको १५÷१६ हजार कमाइ हुन्थ्यो। रेबिकाका आमा छोराको गुजारा चलेकै थियो। टेम्पोको स्टेरिङसँग रेबिकाले थुप्रै दुःख बिसाएकी छिन्। छोराको खोसिएको बाल्यकालको आँसु साटेकी छिन्।
‘कोठामा पट राखेर बाबुलाई कोठामा थुनेर पहिलो टिप हान्न जान्थेँ। अर्को टिपका लागि टेम्पो क्युमा राखेर कोठामा पस्थेँ। बाबुलाई रेडी बनाउँथेँ,’ रेबिका भन्छिन् ‘अर्को टिपको क्युमा खाना बनाउँथे। बाबुलाई खान दिएर स्कुलको गेटमा छोडिदिन्थे र अर्को टिप भ्याउँथे।’
टेम्पो चलाइरहँदा, अरु ड्राइभरहरू नराम्रो बोलिरहेका हुन्थे। रेबिकाले कहिल्यै नराम्रो शब्द बोलिनन्। टेम्पो चलाउँदा पनि उनी चिटिक्क परेर हिँड्थिन्।
‘ड्राइभिङ गरेको यत्रो वर्ष भयो, मैले कहिलै अश्लील बोलेको छैन,’ उनले भनिन्, ‘समाजमा ड्राइभरहरूको नराम्रो छवि छ। कतिपय कुरा त ड्राइभरहरूले नै बिगारेको हो। नराम्रा शब्द नबोले पनि हुन्छ, रक्सी खाएर गाडी नचलाए पनि हुन्छ, केटी नजिस्क्याए पनि हुन्छ। खै मलाई पुगेकै छ त्यसो नगरेर पनि।’
त्यसो त समाजमा अनेकथरीका मान्छे भेटिन्छन्। कहिलेकाहीँ नमिठो व्यवहार गर्ने यात्रु पनि भेटिए। रेबिका सानेपा–बागडोल–रत्नपार्क रुटको टेम्पो चलाउथिँन्। एकदिन एउटा मान्छे झम्सीखेलबाट ड्राइभर सिट छेउको सिटमा बस्न आइपुग्यो। उसले बारम्बार रेबिकाको काँधमा हात पुरायो। रेबिकाले पटकपटक सम्झाउने प्रयत्न गरिन्। तर, उसको व्यवहार सुध्रेन। ज्ञानोदय स्कुल छेउ आइपुगेपछि उनले टेम्पो रोकिन् र भनिन्, ‘तपाईं झरिहाल्नुस्।’
टेम्पोका अरु यात्रुले पनि उनलाई साथ दिए। ती मानिस ‘तेरो मात्रै टेम्पो छ र, अरु पनि छन्,’ भनेर कड्किँदै ओर्लिए। त्यही रुटमा उनी कयौँ पटक भेटिए। तर, रेबिकाले कहिल्यै टेम्पोमा चढाइनन्। भन्छिन्, ‘त्यसले मलाई केटी ड्राइभर भनेर हेपेको थियो।’
अर्को पटक पनि यस्तै खालको घटना भयो। एकजना पुरुषले अघिल्लो सिटमा बसेर हातपात गर्न खोजे। यसपटक रेबिकाले यात्रुलाई सम्झाइनन्। सोझै दुई चड्कन लगाएर यात्रु निकालिन् र प्रहरीलाई जिम्मा लगाइन्। त्यसपछि रेबिकाले टेम्पोको अघिल्लो सिटमा पुरुष यात्रुलाई कहिल्यै राखिनन्।
पर्यटक बोकेर पोखरा
टेम्पो चलाउन छाडेपछि उनले काठमाडौँ–पोखरा रुटमा पर्यटक बोक्ने गाडी चलाउन थालिन्। रेबिका पहिलो पटक पर्यटक बोकेर पोखरा पुगिन्। होटलमा गाडी रोकियो। पर्यटक आआफ्नो रुममा गए। रेबिकाले होटलका मानिसलाई आफ्नो सुत्ने ठाउँ खोइ भनिन्। होटलका मानिस ट्वाँ परे।
‘ड्राइभर त गाडी मै पो सुत्ने रैछन्। त्यत्रो भव्य होटल छ, ड्राइभर रुम राखेकै छैन। कति हेपेको होला है?’ रेबिका भन्छिन्, ‘केटा ड्राइभरलाई पनि त रुम चाहिन्छ नि होइन।’ उनले कुरा राखेपछि त्यो पटक अरु ड्राइभरले पनि सुत्ने कोठा पाए।
ट्राभल एजेन्सीको हाइस चलाउन छोडेपछि उनले एक वर्ष मन्त्रालयमा जागिर पाइन्। त्यहीँ काम गर्दागर्दै उनलाई ठूलो गाडी चलाउन रहर लाग्यो। उनी लाइसेन्स निकाल्न गइन्। त्यहाँका प्रहरी कर्मचारीले सोधे, केका लागि?
उनले जवाफ दिइन, ‘हेबीको लागि।’
प्रहरीले ओठ लेप्य्राउँदै भने, ‘भोलि आउनू।’ उनले एकैपटकमा हेबी गाडीको लाइसेन्स पाइन्।
अघिल्लो दिन ओठ लेप्य्राउने प्रहरीले हाँस्दै प्रशंसा गरे। रेबिकाले धन्यवाद दिइन्।
हेबीको लाइसेन्स लिएपछि उनले साझा बस चलाउन थालिन्। त्यही बीचमा उनले इसिमोडमा इन्टरभ्यु पनि दिएकी थिइन्। त्यहाँ पास भइन्। उनी हप्तामा पाँच दिन इसिमोडको ठूलो गाडी चलाउँथिन्, बाँकी दुई दिन साझा बस चलाउँथिन्।
‘यो मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि थियो। दुवैतिर काम गर्न गाह्रो थियो, तर मैले गर्नै पर्ने थियो,’ रेबिकाले भनिन्।
साझा बस चलाउँदा मानिसहरू उनलाई अचम्म मानेर हेर्थे। विद्यार्थीहरूले स्कुलबसबाट टाउको निकाली निकाली हेर्दै ‘वाउ आन्टी वेलडन!’ भन्न थाले। एकपटक रेबिका पुरानो बर्सपार्कमा गाडी बिसाएर बसिरहेकी थिइन्। एकजना पञ्जाबी स्कोडा गाडी पार्क गरेर आए, अनि उनलाई नमस्कार गरे। उनले पनि नमस्कार फर्काइन्। त्यसपछि पञ्जाबीले भने, ‘बहनजी, आप जैसा कोइ नहीँ। आप एक बार हमारा देश चलो ना। वहाँ के लोग आप को फूलमाला से सम्मान करेँगे।’
‘मलाई केही जवाफ फर्काउन आएन। थ्यांक यु मात्रै भन्न जानेँ। उनी फेरि नमस्कार गरेर गए,’ रेबिकाले पुराना दिनको सम्झना गरिन्।
गएको १ वर्षदेखि उनी काठमाडौं–धनगढी रुटको रात्री बस चलाइरहेकी छिन्। मान्छेहरू सोध्छन्, लामो रुटका रात्रिबस चलाउन छोरीमान्छेलाई गाह्रो हुँदैन?
जवाफमा रेबिका भन्छिन्, ‘हेबी गाडी चलाउन अलि आँट, केही बल र तरिका चाहिन्छ, केटा होस या केटी केही फरक पर्दैन। त्यो लामो रुट होस् या छोटो।’
छोराको मृत्युले थपेको सन्नाटा
८ वर्ष अघि उनका छोराको मृत्यु भयो। छोराको मृत्युले उनको जीवनमा चरम निराशा छायो। १२ कक्षा पास गरेर विदेश पढ्न जाने तयारीमा रहेका १८ वर्षका छोराको मृत्युपछि रेबिकाको मन बाटोमा भौतारिएका बालबालिमा बस्यो। उनका छोरा विवेक पनि भनिरहन्थे, ‘आमाबुवाले माया नगरेका केटाकेटीलाई हामीसँगै राख्ने ल।’
रेबिकाले छोराकै नाममा संस्था खोलिन्, ‘विवेक स्वच्छ केन्द्र बाल आश्रम।’ अहिले यो संस्थामा ३५ जना बालबालिकाले आश्रय लिएका छन्।
Shares
प्रतिक्रिया