सर्लाहीको हरिपूर्वामा आगलागी हुँदा सातवटा घरगोठ जलेर नष्ट भएको छ।
हरिपूर्वा नगरपालिका–५ धोबियाही टोलमा बिहीबार साँझ आगलागी हुँदा ५ वटा घर र २ वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आगलागीबाट धोबियाहीका गिरधारी यादव, शिवधारी यादव, सेतन बैठा, सुरेश बैठा र कविता बैठाको घर जलेको छ भने कपिलेश्वर यादव र किशोरी बैठाको गोठ जलेर नष्ट भएको हो।
सोही आगलागीमा परेर स्थानीय १७ वर्षीय किशोर रवि यादव घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हरिवन नगरपालिका र महोत्तरीको रामगोपालपुर नगरपालिका तथा सम्सी गाउँपालिकाबाट एक घण्टापछि पुगेको वारुण यत्रको सहायतामा प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएका छन्।
२० स्थानीय तह रहेको सर्लाहीमा दुई पालिकासँग मात्रै आगलागी नियन्त्रणमा प्रहयोग हुने वारुण यत्र छ। सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका र हरिवन नगरपालिकाबाहेर जिल्लाका १८ वटा स्थानीय तहसँग दमकल छैन।
बागमती, लालबन्दी, ईश्वरपुर, हरिपुर लगायतका नगरपालिकाले दमकल प्रयोगको लागि हरिवन नगरपालिकासँग सम्झौता गरेका छन्।
Shares
प्रतिक्रिया