पोखरामा पौडी खेल्ने क्रममा डुबेर एकैदिन दुई किशोरको निधन भएको छ।
आइतबार पोखरा-१८ को खपौँदी र पोखरा-१७ को पावरहाउसमा पौडी खेल्दा डुबेर उनीहरूले ज्यान गुमाएका हुन्।
सशस्त्र प्रहरी बल, कालिका गणका अनुसार आइतबार फेवा पावरहाउसको फुस्रेखोलामा पौडी खेल्ने क्रममा पोखराकै जनप्रिय स्कुलमा पढ्ने सुप्रिम पौडेलको ज्यान गएको हो। उनी साथीहरूसँग पौडी खेल्न पुगेका थिए।
फुस्रेखोलामा पौडी खेल्ने क्रममा हरेक वर्षजसो कोही न कोहीले ज्यान गुमाउने गरेका छन्।
उता, पोखरा १८, खपौंदीमा रहेको हर्पन खोलामा पौडी खेल्ने क्रममा हराएका एक किशोरको पनि निधन भएको छ।
आइतबार साथीहरूसँग पौडी खेल्न गएका पोखराकै मालेपाटनका १५ वर्षीय सोनम सुवेदीको डुबेर निधन भएको सशस्त्र प्रहरी बल, कालिका गणले जनाएको छ।
उनी एसईई दिएर बसेका थिए।
डुबेको थाहा पाउनासाथ उद्धारमा पुगेको प्रहरीले उनलाई बचाउन नसकेको कालिका गणका गणपति अरुण पौडेल शर्माले बताएका छन्। शर्माले एसईई दिएर बसेका बालबालिकाको ख्याल गर्न अभिभावकसँग आग्रह पनि गरेका छन्।
Shares
प्रतिक्रिया