पर्सास्थित वीरगञ्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख लुटपाट भएको घटनामा भारतमा चार जना र नेपालमा दुई जना पक्राउ परेका छन्। गत मंगलबार बिहान ४ बजेतिर भएको घटनामा संलग्न अझै एक जना फरार रहेको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बताए।
एसपी ढुंगेलका अनुसार ती फरार व्यक्तिको पनि पहिचान भइसकेको छ।
पक्राउ पर्ने नेपालीमा रौतहटको मौलापुर ७ का २३ वर्षीय छोटेलाल कलुवार र सञ्जय भन्ने विश्वम्भर साह कलुवार रहेका छन्।
भारतमा चार जना पक्राउ परेका छन्। भारतको बिहारस्थित घोडासानका गुद्धु कुमार कानु, अर्जुन पासवान, राम कुमार र घुलन महतो रहेका छन्। बैंकबाट चोरी भएको सबै रकम भारत लगेको खुलेको छ।
तर भारतमा पक्राउ परेका अभियुक्तहरूबाट बिहार प्रहरीले १८ लाख २३ हजार रुपैयाँ मात्रै बरामद गरेको छ। बैंक लुटेर भागेको सूचनापछि नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको भए पनि त्यहाँ चलिरहेको चुनावी आचारसंहिताका कारण अहिले नेपाल ल्याइएको छैन। भारतीय प्रहरीले घोडासनमा उनीहरूलाई मुद्दा चलाएर राखेको छ। बरामद रकम पनि उहीँ छ।
नेपालमा पक्राउ परेका अभियुक्तहरूबाट भने रकम बरामद भएको छैन। उनीहरूले सबै रकम भारतीय लुटेराहरूले नै लगेको बताएका छन्। सीसीटीभी लगायत फुटेजबाट पनि भारतकै लुटेराहरूले रकम लगेको पुष्टि भएको छ। उनीहरूले पछि रकम बाँडफाँड गर्ने सल्लाह भएको बताएका छन्।
यसरी गरेका थिए लुटपाट
नेबिल बैंकको वीरगञ्ज शाखामा सुरक्षा गार्ड रातिको समयमा डियुटीमा थिएनन्। यो थाहा पाएपछि नेपाल र भारतका लुटेराहरूले पहिल्यै योजना बनाएका थिए।
अहिले पक्राउ परेका आरोपिहरू यसअघि पनि लुटपाटमा संलग्न रहेको खुलेको छ। यसअघि भने उनीहरूले ब्याट्रि लुटपाट गरेको पाइएको छ।
नेपाली लुटेराले भारतको घोडासानका लुटेरासँग मिलेर बैंक लुटपाटको योजना बनाए। उनीहरूले पहिल्यै रेक्की गरेका थिए। मुख्य योजनाकार एक जना नेपाली र एक जना भारतीय थिए।
उनीहरूकै योजना अनुसार बैंक लुटपाट भएको खुलेको छ। त्यसदिन बैंकको ताल्चा फुटाउने सामाग्री पनि भारतीयले नै लिएर आएका थिए। ताल्चा फुटाउन ग्याँस गन प्रयोग गरिएको थियो। उनीहरूले ग्याँस गन प्रहार गरेर ताल्चा फुटाए।
तीन जना नेपालीले बाहिर बसेर मान्छेको रेक्की गरिरहे। चार जना भारतीयहरू भने बैंकभित्र पसेर लुटपाट गरेका थिए।
‘भारतको घोडासानबाट आएका व्यक्ति तालफोड्न व्यवसायीक देखिएका छन्। यसका लागि समान पनि उतैबाट लिएर आएका थिए’, जिल्ला प्रहरी कार्यालय पर्साका अनुसन्धान अधिकारीले नेपालखबरसँग भने।
मुख्य ढोकाको चाबि फोडेर भित्र पसिसकेपछि उनीहरूले भित्र ट्यांका देखे। त्यसलाई पनि सजिलै फोडे। ट्यांकामा ५ देखि सयसम्मका नोट थिए।
तर उनीहरूले ५/१० का नोट छाडेर २० देखि सयसम्मका नोट मात्रै लगेका थिए। पैसा बोरामा हालेर भारतीयहरू बोर्डर पार गरे। तर नेपालीहरू भने रौतहटतर्फ लागे। बैंक लुटपाट गरेर लुटेरा सीमा पार गर्दा पनि बैंकका कर्मचारी र प्रहरीले भने सुइँको पाएका थिएनन्।
बिहान ९ बजेतिर बैंकका कर्मचारी कार्यालय खोल्न पुग्दा ताल्चा फोडेको देखेपछि मात्रै उनीहरूले थाहा पाए र प्रहरीलाई खबर गरे।
‘हामीलाई बिहान ९ बजेतिर खबर आएको थियो। त्यसपछि एसपी सावको कमाण्डमा हाम्रो टोली पुगेर सीसीटीभी फुटेज र अन्य प्राविधिक अनुसन्धान सुरु गर्यौं, लगभग ६ घण्टाभित्रमा सबैमान्छे पहिचान गर्न सफल पनि भयौं’, अनुसन्धानमा संलग्न अधिकारीले सुनाए।
भारतीयहरू सीमा पार गरिसकेको देखियो। तर नेपालीहरू भने रौतहटतर्फ लागेको देखिएपछि पर्साका प्रहरी प्रमुख ढुंगेलले रौतहट प्रहरीसँग समन्वय गरे र लुटपाटमा संलग्न व्यक्तिलाई उनीहरूकै गाउँबाट पक्राउ गर्न सफल भएका थिए। तर उनीहरूको घरमा खानतलासी गर्दा भने लुटिएको रकम फेला परेन।
उनीहरूलाई पक्राउ गरेसँगै लुटपाटमा संलग्नहरूको थप पुष्टि र रकम पनि भारततर्फ नै लगेको भएको खुलेको थियो। पैसा लिएर भारतीयहरू फरार भएको पुष्टि भएपछि नेपाल प्रहरीको टोली पनि सीमा पार गयो। भारतीय प्रहरीसँग समन्वय गरेर बैंक लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ पनि गर्यो।
भारतमा पक्राउ परेका अभियुक्तहरूबाट पनि प्रहरीले सबै रकम बरामद गरेको छैन। १८ लाख २३ हजार रुपैयाँ मात्रै बरामद भएको छ। भारतमा निर्वाचन चलिरहेको र आचारसंहिता लागू भएका कारण अहिले त्यो रकम र अभियुक्तहरूलाई भारतीय प्रहरीले नेपाल पठाएको छैन।
‘रकम र भारतीय अभियुक्तहरूलाई अहिले तत्काल हस्तान्तरण गर्न नमिल्ने भनेकाले उतै मुद्दा चलाएर राखेको छ। उनीहरूलाई ल्याएपछि थप कुरा पुष्टि हुन्छ। नेपालमा फरार व्यक्तिको पनि खोजी गरिरहेका छौं’, एसपी ढुंगेलले भने।
Shares
प्रतिक्रिया