सोमबार देशका तीन स्थानमा भारी वर्षा भएको छ। मौसमविद्का अनुसार २४ घण्टामा ५० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई भारी वर्षा भनिन्छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार विगत २४ घण्टामा स्याङ्जा, बागलुङ र रुकुपश्चिमका एक/एक स्थानमा भारी वर्षा भएको हो।
महाशाखाको विवरणअनुसार रुकुमपश्चिमको मुसिकोट स्टेसन (वर्षा मापन केन्द्र) मा ७९.६ मिलिमिटर, स्याङ्जाको स्याङ्जा स्टेसनमा ६४.६ मिलिमिटर र बागलुङको बोबाङ स्टेसनमा ५१.४ मिलिमिटर वर्षा मापन भएको हो।
मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार मधेसबाहेक सबै प्रदेशमा पानी परेको थियो। ‘ती तीन स्थानबाहेक देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो’, उनले भनिन्।
आज (मंगलबार) पनि देशका अधिकांश स्थानमा पानी पर्नाका साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
तर यी प्रदेशका कुन जिल्लामा भारी वर्षाको सम्भावना छ भन्ने कुरा अहिले अनुमान गर्न नसकिने मौसमविद् शान्ति कँडेलले बताइन्।
‘ती प्रदेशका जुनसुकै स्थानमा भारी वर्षा हुनसक्छ, तर यो यो जिल्लामा सम्भावना छ भनेर तोक्न हाम्रो टेक्नोलोजी (प्रविधि) ले भ्याउँदैन’, उनले भनिन्।
महाशाखाका अनुसार आज देशैभरको मौसम बदली (आकाशमा बादल) भएको छ। आज दिनभर नै मौसम खुल्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
महाशाखाका अनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहने छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
Shares
प्रतिक्रिया