ad ad

समाज


अदालतले एउटै विषयमा पटकपटक आदेश गर्नुपर्ने अवस्था सुखद् होइनः प्रधानन्यायाधीश श्रेष्ठ

अदालतले एउटै विषयमा पटकपटक आदेश गर्नुपर्ने अवस्था सुखद् होइनः प्रधानन्यायाधीश श्रेष्ठ

नेपालखबर
जेठ ५, २०८१ शनिबार १९:४८, काठमाडौँ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्दै आएको बताएका छन्।

पूर्वन्यायाधीश फोरम, नेपालको आठौँ वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौँमा आयोजित कानुनी शासनको वर्तमान अवस्था विषयक कार्यक्रममा उनले कानुनको शासन मूलतः अनुभूति गर्ने विषय भएको विचार प्रकट गरे।

कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले भने, “सबैमा कानुनी शासनको परिपालन गर्ने संस्कारको विकास हुनुपर्छ। अदालतले एउटै विषयमा पटक–पटक आदेश गर्नुपर्ने अवस्था सुखद् होइन।”

 कानुनबमोजिम गर्नुपर्ने दायित्व पूरा नगर्ने सार्वजनिक व्यक्तिको खोजी गर्नुपर्ने दृष्टिकोण र विचार अभिव्यक्त हुने गरेको बताउँदै उनले कानुनको शासन प्रवर्द्धनका लागि न्यायाधीश र न्यायपालिका सधैँ गम्भीर र संवेदनशील रहिआएको उल्लेख गरे।

प्रधानन्यायाधीश श्रेष्ठले भने, “अहिले सर्वाेच्च अदालत र देशभरकै अदालतमा दाबीका साथ भन्न सकिन्छ कि केही छिटपुट घटनाबाहेक न्यायपालिकाप्रतिको दृष्टिकोणमा निकै सुधार भएको छ।”

न्यायालयले गरेका काम जनतामा सही सम्प्रेषण नहुँदा ढिलो भयो भन्ने गुनासो देखिएको उनको भनाइ थियो। उनले विश्वमा प्रयोग भइरहेका प्रविधिको प्रयोगमा ढिलाइ भए अदालत पछि पर्छ भन्ने पाटोमा ध्यान पुर्‍याइरहेको जानकारी पनि उनले दिए।

छिटो, छरितो र न्यायमा सबैको पहुँच पुर्‍याउनका लागि बहस र पेसीमा नयाँ कार्यको सुरुआत गरिएको जानकारी दिँदै प्रधानन्यायाधीश श्रेष्ठले आमनागरिक र सेवाग्राहीको सेवासुविधालाई ध्यानमा राखी व्यावसायिक सुधारका प्रयास प्रशस्त भएको दाबी पनि गरे।

पूर्वप्रधानन्यायाधीश रामकुमार साहले पछिल्ला वर्षमा कार्यपालिका र व्यवस्थापिकाप्रति निराशाका साथै न्यायपालिका पनि न्यायको मूल्यमान्यताको मूलधारबाट विचलित भएको हो कि भन्ने भान भएको प्रतिक्रिया दिए।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले फैसला कार्यान्वयनमा समस्या देखिएको, बजेट कम विनियोजन गरिएको तथा आवश्यक जनशक्तिसमेत नहुनुले राज्यले न्यायालयको मर्म र भावना बुझ्न नसकेको टिप्पणी गरे।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतले स्वच्छ, स्वतन्त्र र निर्भिक रूपमा न्याय दिने सवालमा न्यायाधीश डराउने अवस्था आए जनता स्वयं डराउने परिस्थिति निर्माण हुने घटना सुनाउँदै पछिल्लो समय न्यायालय आफ्नो लयमा फर्केको बताए।

आयोजक संस्था पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले जनताको आस्थाको धरोहरका रूपमा रहेको अदालतप्रतिको साख कामय राख्न न्यायाधीशले पनि सुझबुझपूर्ण निर्णय सुनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा संस्थाका आजीवन सदस्य एवं पूर्वन्यायाधीश स्वर्गीय रामहरि शर्माका स्मृतिमा उनकी धर्मपत्नी देवकुमारी फुँयाल र छोरा नरेश फुँयालले पूर्वन्यायाधीश फोरम नेपाललाई एक लाख रुपैयाँ सहयोग गरेवापत संस्थाले उनीहरूलाई सम्मानपत्र प्रदान गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .