काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ का वडाध्यक्ष भाइकृष्ण तामाङका लागि घूस उठाउने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बिचौलियालाई नियन्त्रणमा लिएको छ।
व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने भन्दै घूस उठाइरहेका चन्द्रागिरि-२ बस्ने ध्रुवबहादुर कडायतलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।
कडायतले वडाध्यक्ष तामाङको निर्देशनबमोजिम घूस मागिरहेको भन्ने सूचना पाएपछि अख्तियारले निगरानी गरिरहेको थियो। उनका विरुद्ध केही उजुरी पनि परिरहेका थिए। ती सूचना र उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पछ्याएको थियो।
उनलाई सेवाग्राहीबाट नगद २ लाख र उनकै नाममा काटिएको २ लाख रुपैयाँबराबरको चेक गरी चार लाख घूससहित नियन्त्रणमा लिएको घिमिरेले बताए। कडायतलाई बलम्वुस्थित चन्द्रागिरि नगरपालिका कार्यालयको गेटअगाडि सडकबाट पक्राउ गरेको र अख्तियारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको घिमिरेले जानकारी दिए।
Shares
प्रतिक्रिया