ad ad

समाज


भ्रष्टाचारमा दोषी ठहरिएपछि मृत भेटिएका इन्जिनियरको नोट– मेरो किरिया नगर्नू, तिमीहरू विदेश जानू

भ्रष्टाचारमा दोषी ठहरिएपछि मृत भेटिएका इन्जिनियरको नोट– मेरो किरिया नगर्नू, तिमीहरू विदेश जानू

उजिर कार्की
जेठ १३, २०८१ आइतबार २०:४२, काठमाडौँ

भक्तपुरमा बिहीबार मृत फेला परेका इन्जिनियर नवीनकुमार पोखरेलले परिवारलाई पनि जति सक्दो छिटो देश छाड्न भनेको ‘सुसाइड नोट’ फेला परेको छ। 

सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले गत मंगलबार पोखरेललाई पनि दोषी ठहर गर्दै सजाय सुनाएको थियो। यस्तै उनीमाथि गएको वैशाख ३१ गते फेरि सेक्युरिटी प्रिन्टिङकै भ्रष्टाचारमा अर्को मुद्दा पनि दायर भएको थियो, जुन अझै विचाराधीन छ।

वन तथा वातावरण मन्त्रालयका निलम्बित इन्जिनियर पोखरेललाई अदालतले ६ महिना कैद, ५ करोड ८४ लाख ५५ हजार १५९ रुपैयाँ ७ पैसा जरिवाना र बिगो बराबरको रकम असुल उपर हुने ठहर गरेको थियो। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको दुई दिनपछि उनी आफ्नै घरमा झुण्डिएर गम्भीर अवस्थामा फेला परेका थिए। 

पोखरेलकी पत्नीले बिहानको खाना तयार गरेर खान बोलाउन जाँदा उनलाई रेलिङमा झुण्डिरहेको अवस्थामा फेला पारेकी थिइन्। तत्काल डोरी काटेर अस्पताल लगिएको थियो। तर, अस्पतालले बिहान ११ बजेतिर उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी अजय केसीले बताए। 

सुसाइड नोट र परिवारले दिएको जानकारीका आधारमा उनले आत्माहत्या गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। पोखरेलका छोराले कानुनअनुसार प्रक्रिया अगाडि बढाउन प्रहरीमा निवेदन दिएका छन्। 

उनको साथमा फेला परेको सुसाइड नोटमा आफ्नै कारणले आत्महत्या गरेको उल्लेख छ। उनले आफ्नो मृत्युमा कसैलाई पनि दोष नलगाउन प्रहरीलाई अनुरोध गरेका छन्। 

उनले श्रीमतीलाई सम्बोधन गर्दै लेखेको नोटमा परिवारलाई जति सक्दो चाँडो विदेश जान भनिएको छ।

‘नेपालमा बस्न ठिक छैन। तिमीहरू पनि मिलेसम्म जति सक्दो छिटो विदेश गएर बस्नू।  नेपालमा नबस्नू’, नोटमा उल्लिखित विवरणबारे अनुसन्धानमा संलग्न एक अधिकारीले भने। 

उनले श्रीमतीलाई जुनीभरि साथ दिन नसकेकोमा माफी मागेका छन्। ‘यो जुनिभरि नै सँगै बाँच्ने रहर थियो तर पूरा हुन सकेन। अर्को जुनी पाइएछ भने पनि तिम्रै श्रीमान् हुन पाऊँ,’ नोटमा उल्लेख छ।

उनले परिवारलाई आफ्नो किरिया पनि सकेसम्म नगर्न र गर्ने भए पनि ५ दिनमा सक्न भनेका छन्। यस्तै आफ्नो कारोबारबारे जानकारीहरू पनि उनले लेखी छाडेका छन्।

तर, अदालतको फैसलाबारे भने केही पनि उल्लेख नरहेको स्रोतले जानकारी दिएको छ। वन तथा वातावरण मन्त्रालयमा कार्यरत उनी यो मुद्दा दायर भएसँगै निलम्बनमा परेका थिए। 

पोखरेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० वैशाख ३ गते दायर गरेको मुद्दामा गुणस्तरहीन ट्रान्सफर्मरलाई सम्झौताअनुसारकै भनी गलत विवरण उल्लेख गरी प्रतिवेदन दिएको अभियोग थियो। 

तत्कालीन अवस्थामा उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधिका रूपमा काम गरेका थिए।

सम्झौताबमोजिम जडित उपकरणको मर्मत कार्य नै नगरिएको अवस्थामा सो कार्य गरिसकिएको भनी पेस भएको झुटा बिल सदर गरी भुक्तानीका लागि पेस गरेको अदालतको ठहर छ।

बहुचर्चित सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जना दोषी ठहर भएका थिए। 

इजलासले विकल पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख एक हजार ६८ रुपैयाँ ७ पैसा जरिवाना र बिगो असुल गर्नुपर्ने ठहर गरेको छ।
अख्तियारले यस मुद्दामा ९ जनालाई प्रतिवादी बनाए पनि ५ जनाले सफाइ पाएका थिए।

इन्जिनियरिङ मार्केटिङ कन्सर्ननामक कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनलाई ६ महिनाका दरले कैद र ५ करोड ८४ लाख ५५ हजार १५९ रुपैयाँ ७ पैसाका दरले बिगो तथा जरिवाना सुनाइएको थियो।

सफाइ पाउनेमा केन्द्रका सहायक निर्देशक रमेशकुमार पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरीष उपाध्याय र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौ छन्। 

पोखरेलविरुद्ध दायर भएको अर्को मुद्दामा ४० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको अभियोग छ। यस मुद्दामा ६ जनाविरुद्ध मुद्दा चलाइएको छ, जसमा मुख्य अभियुक्तका रूपमा भने कार्यकारी निर्देशक विकल पौडेललाई नै प्रस्तुत गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .