नेपाली समाजमा अंग्रेजी माध्यमले शिक्षा राम्रो हुन्छ भन्ने आम बुझाइ छ। अर्थात्, अंग्रेजी माध्यमले गुणस्तरीय शिक्षा सुनिश्चित गर्छ भन्ने बुझाइ पनि धेरैमा पाइन्छ। तर बालबालिकाले घरमा बोल्ने वा बुझ्ने भाषाभन्दा फरक, विशेष गरी अंग्रेजी माध्यमका कारण सिकाइ झन् खस्किँदै गएको पाइएको छ।
विश्वकै प्रतिष्ठितमध्येको कोलम्बिया विश्वविद्यालय, अमेरिकाका एसोसिएट प्रोफेसर डा प्रेम फ्याकका अनुसार, दक्षिण एसिया लगायतका क्षेत्रहरूमा गरिएको भाषासम्बन्धी अध्ययनले अंग्रेजी माध्यमका कारण बालबालिकाको सिकाइ खस्किँदै गएको देखाएको छ। अन्य क्षेत्रको तुलनामा दक्षिण एसियामा बढी कमजोर पाइएको छ।
उनका अनुसार, आधारभूत तहका कक्षाहरूमा विद्यार्थीले नबुझ्ने माध्यम भाषा हुँदा उनीहरूमाथि संज्ञानात्मक भार बढी हुन्छ। डा फ्याक भन्छन्, ‘बालबालिकामा सिक्ने क्षमता र सम्भावना एकदमै धेरै हुन्छ। भाषा नबुझेपछि यस्तो सम्भावनामा अवरोध पुग्छ। सिकाइ भएजस्तो त देखिन्छ। तर घोक्ने र रट्नेमा बढी केन्द्रित हुन्छ।’
भिडिओ :
सामान्यतः पाठ्यपुस्तक पढेर परीक्षामा राम्रो अंक वा ग्रेड ल्याउनुलाई राम्रो सिकाइ भएको मान्ने चलन छ।
‘विद्यार्थीहरूसँग प्रशस्त अन्तर्क्रिया गरी शिक्षण सिकाइलाई उनीहरूको जीवनसँग जोड्नु सिकाइ हो। तर्क र विश्लेषण गर्न सक्ने अनि सृजनशील बनाउन सक्नु गुणस्तरीय सिकाइ हो। यसका लागि आधारभूत तहमा उनीहरूले बोल्ने र बुझ्ने भाषा नै माध्यम बनाइनुपर्छ।’
नेपालको संविधानमा मातृभाषामा शिक्षा पाउने हक सुनिश्चित गरिएको छ। अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा शिक्षणको माध्यम भाषा नेपाली वा अंग्रेजी वा मातृभाषा हुन सक्ने भनिएको छ।
अन्तर्राष्ट्रिय भाषा, रोजगारीको अवसर र अभिभावकको चाहनाका कारण अंग्रेजीप्रति आकर्षण बढ्दो छ। निजी विद्यालयसँग प्रतिस्पर्धाका लागि थुप्रै सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यम लागू गरिएको छ।
‘केहीमा बाहेक धेरै निजी विद्यालयहरूमा किताब पढ्ने, रट्ने रटाउने र परीक्षामा लेख्नेमा अंग्रेजी माध्यम केन्द्रित छ,’ डा फ्याक भन्छन्, ‘सामुदायिक विद्यालयहरूले पनि यही सिको गरेका छन्। यसमा शिक्षकहरूको दोष पनि छैन। विद्यार्थी फेल हुन्छन् भनेर यो–यो प्रश्न आउन सक्छ भनेर सम्भावित प्रश्न भनिदिने र यसको आधारमा परीक्षाको तयारी हुने गरेको छ। यो अहिलेको कमन ट्रेन्ड हो। मेरो अध्ययनले यही देखाएको छ।’
बालबाालिकाले घरमा बोल्ने भाषा नेपाली वा अरू पनि हुन सक्छ। नेपाली मातृभाषी र अरू मातृभाषी पनि हुन सक्छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायका अंग्रेजी विभागका पूर्वप्रमुख तथा हाल कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा फ्याक भन्छन्, ‘मातृभाषामा पाएको ज्ञान दह्रो भएपछि सिकाइको जग दह्रो हुन्छ। बालबालिकाले घरबाट लिएर आएको भाषिक र सांस्कृतिक ज्ञानलाई सिकाइ प्रक्रियामा प्रयोग गरिनुपर्छ। यसले गर्दा हाम्रोजस्तो बहुभाषिक देशमा भाषा पनि बाँच्छ।’
विगतमा शिक्षा मन्त्रालय र जिल्ला शिक्षा कार्यालयले अंग्रेजी माध्यम र यसको प्रभावकारिताबारे अध्ययन नगरेजस्तै अहिले स्थानीय तहहरू पनि बिनाअध्ययन अंग्रेजी माध्यमलाई प्राथमिकता दिइरहेका छन्। अंग्रेजी माध्यमलाई गुणस्तरीय शिक्षाको नारा बनाइरहेका छन्। कतिपय पूर्वशिक्षामन्त्री, अहिलेका जनप्रतिनिधि, स्थानीय तहका शिक्षा अधिकारीलगायत धेरैमा अंग्रेजी भाषा र अंग्रेजी माध्यममा पढाउनु एकै हो भन्ने बुझाइ छ।
डा फ्याक प्रस्ट्याउँछन्, ‘अंग्रेजी माध्यममा शिक्षण सिकाइ कसरी भइरहेको छ भनेर हामीले आलोचनात्मक रूपमा हेरेका छैनौँ। शिक्षा मन्त्रालय, स्थानीय तह र शिक्षाकर्मीहरूले एकै ठाउँमा बसेर छलफल गरेका छैनौँ। शैक्षिक, सामाजिक र सांस्कृतिक रूपमा अंग्रेजी माध्यमको असर कस्तो पर्छ भनेर हामीले गम्भीर भएर सोच्नुपर्छ।’
प्रस्तुत छ, विद्यालय शिक्षामा अंग्रेजी माध्यमको प्रयोग र यसले शिक्षण सिकाइमा पार्ने प्रभावका सम्बन्धमा कोलम्बिया विश्वविद्यालय, अमेरिकाका एसोसिएट प्रोफेसर डा प्रेम फ्याकसँग नेपालखबरले गरेको भिडिओ कुराकानी।
Shares
प्रतिक्रिया