ad ad

समाज


चिनियाँ संस्कृति मन्त्री लुम्बिनीमा, गौतमबुद्ध विमानस्थलमा नियमित उडानको पहल गर्ने प्रतिवद्धता

चिनियाँ संस्कृति मन्त्री लुम्बिनीमा, गौतमबुद्ध विमानस्थलमा नियमित उडानको पहल गर्ने प्रतिवद्धता

तस्बिरः लुम्बिनी बिकास कोष


नेपालखबर
जेठ ३०, २०८१ बुधबार २१:५८, काठमाडौँ

चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। 

चीनको धार्मिक तथा सांस्कृतिक मन्त्रालय हेर्ने मन्त्रीसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले स्वागत गरे। बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं नेपाल चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेंङले बताए।

उनले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिए। भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चीनबाट नियमित उडानका लागि पहल गर्न आग्रह गरेका थिए। ‘नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन हुनुका साथै बुद्धको सन्देश विश्वव्यापी बनाउन थप सहज हुन्थ्यो, त्यसकारण छिमेकी राष्ट्रको हिसाबले यहाँहरूले पहल गरिदिनुप¥यो। यसैगरी लुम्बिनी दर्शनका लागि चिनियाँ तीर्थयात्रुहरु यहाँ आउन सहज हुन्थ्यो’, त्यसअवसरमा उनले भनेका थिए। 

चिनियाँ मन्त्रीले समेत चीनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएको उपाध्यक्ष डा लामाले जानकारी दिए। ‘उहाँले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको र यो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको र चाँडै उडान हुने अवस्था बनाउन आफू पनि प्रतिबद्ध रहेको छु भन्नुभएको छ’, उपाध्यक्ष डा लामाले भने। 

मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्युरो प्रमुख हुआङ्ग झिहुइसहितको उपस्थिति रहेको थियो। मन्त्रीसहितको टोलीको स्वागतमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईलगायतको उपस्थिति थियो।  

यसैगरी मन्त्री रुईफेंङले लुम्बिनीस्थित चिनियाँ विहारको समेत भ्रमण गरेका थिए।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .