ad ad

समाज


काटिएको एउटै रुखको मूल्यांकन ५५ करोड, ६० वर्षसम्म फल्ने बुद्धचित्तको क्षतिपूर्ति माग

काटिएको एउटै रुखको मूल्यांकन ५५ करोड, ६० वर्षसम्म फल्ने बुद्धचित्तको क्षतिपूर्ति माग

उजिर कार्की
जेठ ३१, २०८१ बिहिबार २०:२२, काठमाडौँ

काभ्रेपलान्चोकको रोशी गाउँपालिका ५ मा काटिएको बुद्धचित्तको एउटै रुखको बिगो रकम ५५ करोड रुपैयाँ कायम गरिएको छ। प्रहरीले अनुसन्धान सकेर ८ जनाविरुद्ध मुद्दा दायर गर्दै बिगो र क्षतिपूर्ति बापत ५४ करोड ९९ लाख रुपैयाँ भराउन माग गरेको हो। 

जाहेरवाला निरबहादुर तामाङ र जग्गाधनीहरु वीरबहादुर तामाङ, दिलबहादुर तामाङ, ठक्कु तामाङ, शेरबहादुर तामाङ, धनबहादुर तामाङलाई दामासाही हिसाबले ५४ करोड तीन लाख रुपैयाँ क्षतिपूर्ति भराइदिन मागदाबी गरिएको छ। 

उक्त रुख किन्न बैना रकम दिएका जाहेरवाला समीप त्रिपाठीलाई ९६ लाख ७८० रुपैयाँ क्षतिपूर्ति भराइदिन माग गरिएको छ।  

जाहेरवाला निरबहादुर तामाङले काटिएको रुखको क्षतिपूर्ति बापत ३० करोड रुपैयाँ माग गरेका थिए। यस्तै समीप त्रिपाठीले क्षतिपूर्ति बापत ५ करोड ४० लाख दाबी गरेका छन्। रुख काटेपछि कलमी गर्दा ३ लाख रुपैयाँ खर्च लागेको र सो रकम पनि प्रतिवादीहरुबाट भराउन माग गरिएको छ। 

बुद्धचित्तको मूल्य सरकारले हालसम्म नतोकेको डिभिजन वन कार्यालय काभ्रेपलान्चोकले जनाएको छ। तर रोशी गाउँपालिकाले सोही रुखको दानाको मूल्य बापत गतवर्ष ९० लाख रुपैयाँ बिगो कायम गरी त्यसबापत राजस्व लिएको थियो। 

यो रुखको आयु ९० वर्ष हुने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। जग्गाधनी वीरबहादुर तामाङले कागज गर्दा आफूले ५ वर्षको रुखसहित २५ वर्षअगाडि उक्त जग्गा खरिद गरेको बताएका छन्। उक्त रुख हाल ३० वर्षको भएको जग्गाधनीको कागजातबाट खुलेको छ। 

वडाअध्यक्ष निरध्वज लामा समेतले गरेको मूल्य मुचुल्कामा रुखको आयु ९० वर्ष हुने उल्लेख छ। अहिले ३० वर्षको भएकाले अझै ६० वर्षसम्म बाँच्न सक्ने उल्लेख गर्दै हरेक वर्ष ९० लाख रुपैयाँका दरले नोक्सान भएको दाबी गरिएको छ। 

६० वर्षको हरेक वर्ष ९० लाख रुपैयाँका दरले ५४ करोड रुपैयाँ र यसवर्ष किन्न बैना दिएका समीप त्रिपाठीको ५० लाख रुपैयाँ, क्षति भएको ४६ लाख ७८० रुपैयाँ, कलमी गर्दा लागेको ३ लाख रुपैयाँ गरी ५४ करोड ९९ लाख ७८० रुपैयाँ बिगो कायम गरिएको हो। 

यो रकम ८ जना प्रतिवादीहरुबाट भराउन माग गरिएको छ।

आफूले उधारोमा किन्न नपाएपछि रुखै काटिदिए
गत वर्ष यो रुखका बुद्धचित्त किनेकै समूहले अहिले काटिदिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ। यसमा एक जना चिनियाँ नागरिक याङ कैलिङ र ७ जना नेपालीको संलग्नता देखिएको प्रहरीको दाबी छ। 

चिनियाँ नागरिक कैलिङ हाल फरार छन्। अध्यागमन विभागका अनुसार काभ्रेमा रुख काटिनु ८ दिनअघि २०८० चैत २२ गते उनी नेपाल आएका थिए। नेपाल आएर उनी होटल डार्बिनमा बसेका थिए। सुरुमा चैत २९ गतेसम्मका लागि होटल बुक गरेकामा पछि एक दिन थप गरेका थिए। रुख काटिएको दिन चैत ३० गते बिहान ११ बजेर २४ मिनेटको समयमा उनी चीनतर्फ फर्किएको अध्यागमन विभागको अभिलेख छ। उनी चीनमा बुद्धचित्तको मालाको व्यापारी रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 

यी चिनियाँ नागरिकसहितका प्रतिवादीहरुले अघिल्ला वर्षमा पनि बुद्धचित्तको दाना सम्झौता गरेर लगेको तर सम्झौता अनुसारको रकम नदिएको जाहेरवालाको गुनासो छ। पछिल्लो समय मानबहादुर तामाङसहितको समूहले बुद्धचित्तका दाना उधारो माग्ने गरेको तर सम्झौता अनुसार रकम नदिएपछि निरबहादुर तामाङले यो वर्ष (२०८१ सिजन) को ९० लाख रुपैयाँमा समीप त्रिपाठीलाई दिने सम्झौता गरेका थिए। 

उनीहरुले २०८० साउन १९ गते सम्झौता गरी सोही मितिमा बैना वापत ५० लाख रुपैयाँ समेत दिएका थिए। २०८२ सालदेखि २०८६ सम्म थप ५ वर्ष पनि स्थानीय निकायलाई दिने करबाहेक माला धनीलाई ९० लाख रुपैयाँ दिने सम्झौता पनि भइसकेको त्रिपाठी र तामाङले जाहेरीमा उल्लेख गरेका छन्। 

तर २०८० चैत २९ गते राति साढे ११ बजे हतियारसहित गएको समूहले उक्त रुख काटिदिएको थियो। घरको चार ठाउँमा बम राखेर परिवार र छिमेकीलाई बाहिर निस्किए गोली ठोकिदिन्छौँ भन्दै बन्दुक ताकेर घरमै बन्धक बनाएका थिए। उक्त घर आसपास राखिएका चार वटा बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो।  

उनीहरुले विद्युतीय आराले रुख काटेर नष्ट पारेका थिए। यी प्रतिवादीहरुबीच उक्त समयमा १२१ पटकसम्म टेलिफोनमा कुरा भएको कल डिटेल रेकर्ड (सीडीआर) प्रतिवेदनमा उल्लेख छ। 

यसअघि पनि भएको थियो विवाद
अहिले काटिएको बुद्धचित्तको मालाका कारण उनीहरुबीच २०७७ सालमा पनि विवाद भएको थियो। त्यतिबेला परेको मुद्दा अहिले पनि जिल्ला अदालत काभ्रेमा विचाराधीन छ। प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेका दुर्गालाल तामाङका अनुसार २०७६ सालदेखि नै विवाद हुँदै आएको थियो। 

२०७६ सालमा निरबहादुर तामाङका भाइले मानबहादुर तामाङ र दुर्गालाल तामाङलाई माला बेचेका थिए। २०७७ सालमा पनि गत वर्ष झैँ सम्झौता गरी मालाको खरिद बिक्री गर्ने क्रममा अराजक समूहले माला लुटपाट गरी रुखमा क्षति पु¥याएको थियो। मानबहादुर तामाङले क्षतिपूर्तिका लागि दिएको मुद्दा हाल काभ्रे जिल्ला अदालतमा विचाराधीन छ। 

विप्लव छाडेर आफ्नै पार्टी खोलेका चौधरीले लिए जिम्मा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छाडेर आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएका महावीर, महेश चौधरी भनिने विश्वनाथ चौधरीले भने आफू समेतको बैठकले उक्त रुख काट्ने निर्णय गरेको बयान दिएका छन्। 

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा यसअघि नै चितवनमा पक्राउ परेका चौधरीलाई पनि यो घटनाको बयानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा उपस्थित गराइएको थियो। बयानमा उनले आफू नेतृत्वको पार्टीले नवलपरासीमा २०८० चैत ८ र ९ गते बैठक बसेर उक्त रुख काट्न निर्देशन दिने निर्णय गरेको बयानका क्रममा बताएका छन्। घटनापछि उनले प्रेस विज्ञप्ति जारी गर्दै रुख काटिएको घटनाको जिम्मा लिएका थिए। 

एकजना कारागार चलान, चिनियाँसहित ६ जना फरार
बुद्धचित्तको रुख काटेको आरोपमा ८ जनाविरुद्ध मुद्दा दर्ता भए पनि एक जना मात्रै पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काभ्रेले रोशी गाउँपालिका ६ ठूलोपर्सेलका ४१ वर्षीय सिजन भन्ने मानबहादुर तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

चितवनको भरतपुर महानगरपालिका २५ जब्काका ४१ वर्षीय महेश चौधरी पनि पक्राउ परेका छन्। तर विस्फोटक पदार्थ सम्बन्धी कसुरमा चितवनमा अनुसन्धान भइरहेकाले उनलाई अदालतमा उपस्थित गराइएको छैन। त्यहाँको मुद्दामा थुनछेक बहस सकिएपछि काभ्रे अदालतमा उपस्थित गराउने तयारी रहेको डीएसपी श्रेष्ठले नेपालखबरलाई बताए। 

मानबहादुरसहितका प्रतिवादीहरुले आफूले किन्न नपाएपछि जाहेरवालालाई धम्काउने गरेको आरोप छ। मानबहादुरले शेरबहादुर तामाङलाई ‘गेम इज ओभर’ भन्दै म्यासेज पठाएको पाइएको छ। उनी हतियारसहित रुख काट्ने बेलामा प्रवेश गरेको पनि सीसीटीभी फुटेजमा देखिएको छ। प्रहरीले सोही फुटेजका आधारमा संलग्नहरुको पहिचान गरेको हो। मानबहादुरले बयानका क्रममा आफू २०७० सालदेखि नै बुद्धचित्तको मालाको व्यापारमा संलग्न रहेको बताएका छन्। उनले चिनियाँ व्यापारी अभियुक्तसँग पनि चिनजान रहेको बताएका छन्।

तर अरु ६ जना भने फरार छन्। फरार रहनेमा काभ्रेको तेमाल गाउँपालिका ६ का २८ वर्षीय कवीन्द्र तामाङ, रोशी गाउँपालिका ५ का ४१ वर्षीय सागर मैनाली भन्ने रामकृष्ण मैनाली, सोही ठाउँका २७ वर्षीय विजय हुमागाईं, महाभारत गाउँपालिका ३ का ३५ वर्षीय असल मोक्तान, भुम्लु गाउँपालिका १ का ३५ वर्षीय रतन र अजय भन्ने रामजी श्रेष्ठ र चिनियाँ नागरिक ३८ वर्षीय याङ कैलिङ फरार छन्।

उनीहरुविरुद्ध अदालतमा विस्फोटक पदार्थ, आपराधिक उपद्रो र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .