ad ad

समाज


यी फुटपाथ व्यापारी, जो ४ लाखका लागि ४ करोडको कोकिन निलेर नेपाल आइन्

पेटबाट २ दिनमा निकालियो ९० वटा कोकिन–क्याप्सुल
यी फुटपाथ व्यापारी, जो ४ लाखका लागि ४ करोडको कोकिन निलेर नेपाल आइन्

उजिर कार्की
असार १२, २०८१ बुधबार १९:५०, काठमाडौँ

बुधबार गृहमन्त्रीसहित प्रहरी अधिकारीहरू सैनिक मुख्यालयमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहेका थिए। सेनाको मुख्यालय जंगी अड्डाको रिपुमर्दिनी हलमा सुरक्षा प्रमुखहरूले लागुऔषधको अवैध ओसारपसारविरुद्ध भाषण गरिरहँदा करिब एक किलोमिटर टाढाको जिल्ला अदालत काठमाडौँमा एक महिला यही कसुरमा बयान दिइरहेकी थिइन्। 

अफ्रिकी मूल युगान्डाकी ४४ वर्षीया केभिना मुगालालाई बुधबार अदालतमा उभ्याइएको थियो। इथियोपियाबाट लागुऔषध लिएर आउँदै गर्दा उनी गत वैशाख ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेकी थिइन्। उनीमाथिको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझायो। सोही प्रतिवेदनका आधारमा उनीविरुद्ध अदालतमा मुद्दा दायर भयो। 

मुगाला आफ्नो देश युगान्डामा फुटपाथमा कस्मेटिक्स सामान बेच्थिन्। यो व्यापारले उनलाई परिवारको खर्च र बैंकको किस्ता धान्न गाह्रो भइरहेको थियो। 

वैशाखको अन्तिम सातातिर उनका साथी हकिमाले एउटा प्रस्ताव गरिन्। उनको प्रस्ताव थियो इथियोपियाबाट एउटा सामान पेटमा राखी नेपालसम्म लैजानु पर्ने। त्यो काम गर्दा उनलाई नेपाल आउने र फर्किने प्लेन टिकट, बस्ने होटलको व्यवस्था उनीहरूले नै गरिदिने भनेका थिए। सामान नेपाल ल्याएर फर्किएपछि ३५०० अमेरिकी डलर (करिब ४ लाख ६८ हजार रुपैयाँ) दिन्छु भनेका थिए। 

बैंकको ऋण तिरिने र घरखर्च पनि हुने भएपछि उनी त्यो सामान लिएर नेपाल आउन तयार भइन्। त्यसपछि हकिमाले ह्वाटसएपमा इथियोपिया, कतार हुँदै काठमाडौँ आउने फ्लाइटको टिकट र होटल बुकिङ गरेका कागजातहरू पठाइदिइन्। इथियोपिया गएपछि सामान लिनका लागि एक जनालाई सम्पर्क गर्नु भनेर उनको मोबाइल नम्बर दिइएको थियो।

यतिबेलासम्म पनि केभिनालाई के सामान लैजाने भन्ने थाहा थिएन। सन् २०२४ मे १० तारिखका दिन उनी युगाण्डाबाट इथियोपिया जाने विमान चढिन्। इथियोपियाको राजधानी अदिस अबाबामा उत्रिएपछि उनी एयरपोर्टबाट बाहिर निस्किन्। एकजना ट्याक्सी चालकलाई आफूसँग भएको नम्बरमा फोन गर्न लगाइन्। अबोगा नाम बताउने नाइजेरियाली नागरिकले उनलाई एउटा स्थानमा बोलाए। 

ट्याक्सी चालकले सो स्थानमा लगिदिए र ती व्यक्तिसँग भेट गराइदिए। नाइजेरियाली पुरुषले उनलाई नजिकैको एउटा घरमा लिएर गए। त्यहाँ उनले खाजा खाइन्। केही समय विश्राम गरेपछि ती नाइजेयिाली कोकिनका क्याप्सुल लिएर उनी भए ठाउँमा आए र भने, ‘तिमीले यही क्याप्सुल निलेर पेटमा काठमाडौँसम्म लैजाने हो।’

सुरुमा त उनले यस्तो काम गर्दिनँ भनेर नकारिन्। तर ती पुरुषले केभिनालाई तिम्रो नाममा प्लेन टिकट र होटल बुकिङ भइसक्यो। हाम्रो खर्च भइसक्यो। अब तिमीले जसरी भए पनि यो क्याप्सुल निलेर पेटमा राखेर जानैपर्छ भन्दै दबाब दिए। 

कोकिनका क्याप्सुलहरू प्याकिङ गरिएका थिए। अगाडि थालमा राखेका ती क्याप्सुल केभिनाले पानीको सहायताले पालैपालो निलिन्। 

१३/१४ घण्टा इथियोपियामा बिताएपछि उनलाई विमानस्थल लगेर कतारका लागि उडाइदिए। कतार हुँदै उनी मे १२ तारिखका दिन दिउँसो ३ बजे काठमाडौँ ओर्लिन्। 

उनलाई इथियोपियामा नेपाल पुगेपछि खाना र जुस खानु अनि ती क्याप्सुल दिसासँगै निकालेर सफा गर्नु भनिएको थियो। कोकिनका क्याप्सुल कसलाई दिने भन्ने ह्वाट्सएपमा म्यासेज गरिदिनू भनेका थिए। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्किएपछि उनी होटल जानका लागि ट्याक्सी खोज्दै थिइन्। तर उनलाई त्यहीँ सादा पोसाकका प्रहरीले पक्राउ गरे।

उनलाई पक्राउ गर्ने लागुऔषध नियन्त्रण ब्युरोको टोली थियो। उनी कतार विमानस्थलमा हुँदै उनको पेटमा लागुऔषध रहेको पत्ता लागिसकेको थियो। 

कतार प्रहरीले यो थाहा पाएर पनि उनलाई पक्राउ गरेन। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोलाई जानकारी दियो। ब्युरोको टोली उनी आउने भएपछि पहिल्यै विमानस्थलमा तैनाथ थियो।

पेटमा रहेको लागुऔषध निकाल्न उनलाई ब्यूरोले महाराजगन्जस्थित प्रहरी अस्पतालमा लग्यो। 

त्यहाँ भिडिओ एक्स–रे गर्दा उनको पेटका क्याप्सुलहरू भएको पुष्टि भयो। अस्पतालमा उनलाई सलाइनमार्फत औषधि दिएर कोकिनका क्याप्सुलहरू निकालियो। 

सेतो प्लास्टिकले बेरेका कोकिनका क्याप्सुलहरू वैशाख ३१ गते ६० वटा र भोलिपल्ट जेठ १ गते ३० वटा गरी ९० वटा निकालिएको थियो। 

ती क्याप्सुल फुटाउँदा कोकिन भएको पुष्टि भयो। ९० वटा कोकिनको तौल एक किलो २६० ग्राम भएको लागुऔषध ब्युरोले जनाएको छ। 

प्रहरीले सो कोकिनको मूल्य करिब ४ करोड ४१ लाख रुपैयाँ पर्ने जानकारी दिएको छ। 

बुधबार केभिनाविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौँमा दायर भएको छ। उनले लागुऔषध कोकिन खरिद बिक्री, ओसारपसार, पैठारी, निकासी गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को खण्ड (घ), (ङ) र (च) को कसुर गरेको अभियोग छ। यो कसुर पुष्टि भएमा उनलाई १५ वर्षदेखि जन्म कैद र पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने छ। 

अब उनीविरुद्ध अदालतमा थुनछेक बहस हुनेछ। अदालतले उनलाई तत्कालका लागि पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिर भन्ने आदेश गर्नेछ। फैसला हुन भने समय लाग्नेछ। 

लागुऔषध नेपाल ल्याएर फर्किएपछि ३५०० डलर लिने र बैंकको ऋण तिर्ने सपनाले उनलाई जेलको बाटो देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .