उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ सकिएको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा भएको तेस्रो दिनको सुनुवाइ पछि निर्णय सुनाउन लागिएको हो। इजलासमा बहस सकिएपछि अहिले दुवै न्यायाधीश छलफलमा छन्। निर्णय सुनाउन अझै केही समय लाग्ने सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले नेपालखबरसँग बताए।
लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गर्न माग गर्दै अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए।
सहकारी ठगी प्रकरणमा लामिछानेविरूद्ध समेत जाहेरी परेको दाबी गर्दै उनी गृहमन्त्रीका रूपमा रहन नमिल्ने जिकिर रिटमा गरिएको छ।
महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नपरेको भनी पत्र लेखेको थियो। उक्त पत्रको वैधानिकता जाँच हुनुपर्ने जिकिर पनि रिटमा गरिएको छ।
सर्वोच्चले पोखरामा दर्ता भएको जाहेरीदेखि रुपन्देही जिल्ला अदालतमा पेस अभियोग पत्रसम्म मगाउने आदेश दिएको थियो।
सर्वोच्चमा पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अध्ययन प्रतिवेदन पनि पेस भइसकेको छ।
Shares
प्रतिक्रिया