ad ad

समाज


शतप्रतिशत नतिजा ल्याउने बलम्बु मावि कसरी सधैँ उत्कृष्ट हुन्छ? (भिडिओ)


रोश्ना सुब्बा
साउन १ , काठमाडौँ

२०८० सालको माध्यमिक परीक्षा एसईईमा काठमाडौँका १ सय ६५ सामुदायिक विद्यालयमध्ये पाँच विद्यालयले शत प्रतिशत नतिजा ल्याएका छन्। शत प्रतिशत ल्याउने विद्यालयहरूमा चन्द्रागिरि नगरपालिकास्थित बलम्बु माध्यमिक विद्यालयको औसत जीपीए ३.५ छ। 

शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौँको प्रारम्भिक नतिजा विश्लेषणअनुसार यो औसत जीपीए काठमाडौँका १ सय ६५ विद्यालयमध्ये सबैभन्दा बढी हो। बलम्बु माविबाट ८९ जना विद्यार्थीले एसईई दिएका थिए। 

विद्यालयका प्रधानाध्यापक सुमन राउत कक्षाकोठाको शिक्षण सिकाइ र नियमित पठनपाठनका कारण नतिजा राम्रो आएको बताउँछन्। 

प्रअ राउत भन्छन्, ‘यसमा सबै तहका शिक्षकको ठूलो भूमिका छ। उहाँहरूले विद्यार्थीलाई राम्ररी नपढाएको र नसिकाइदिएको भए यो नतिजा आउँदैनथ्यो। शिशुकक्षाका शिक्षकहरूले बलियो जग हाल्नुभयो। एउटा शिक्षकले मात्र राम्रो गर्छु भनेर हुँदैन। प्रअ एक्लैले गरेर पनि हुँदैन। फुटबल गेममा जस्तै टिम वर्कले काम गरेको हो।’

विद्यार्थीलाई के दिने र कसरी दिने भनेर स्वप्रेरित भई कक्षाकोठाभित्र शिक्षक प्रवेश गरेमा नतिजा राम्रो आउने उनको विश्लेषण छ। 

‘प्रधानाध्यापक एकछिन कक्षाकोठामा अनुगमन गर्न गएर नतिजा आउँदैन। शिक्षकका पेसागत सीप, गुण फरक हुन्छन्। अनुभव फरक हुन्छ। पढाउने शैली फरक हुन्छ। यसो गरौँ भनेर सहकार्य गर्ने वातावरण पनि विद्यालयमा छ,’ उनले आफ्नो अनुभव सुनाए। 

विद्यालयमा द्वन्द्वको वातावरण निम्त्याउन दिनुहुन्न भन्नेमा आफू सचेत रहेको उनी बताउँछन्। 

प्रअ राउत भन्छन्, ‘शिक्षकले गुनासो राख्ने प्रअसँग हो। खुसी हुने ठाउँ पनि विद्यालय हो। आफूले दिने ठाउँ पनि विद्यालय हो। मनमुटावले विद्यालयको वातावरण बिग्रन सक्छ। यसको असर पठनपाठनमा पर्न सक्छ।’

सामुदायिक विद्यालयमा कमजोर सामाजिक आर्थिक अवस्था भएका अभिभावक हुन्छन्। उनीहरू आफ्ना केटाकेटीको शिक्षाप्रति सचेत छैनन्। सामुदायिक विद्यालयको नतिजा कमजोर हुनुको एउटा कारण यो हो भन्ने धेरै प्रधानाध्यापकको भनाइ सुनिन्छ।

बलम्बु माविमा पनि  यही अवस्थाका अभिभावक छन्। त्यहाँ पनि रिजल्ट हुने दिन बोलाउँदा कम अभिभावक मात्र उपस्थित हुन्थे। अरु बेला विद्यार्थीका बारेमा कुरा गनुपर्दा पनि धेरै अभिभावक आउँदैनथे। 

प्रअ राउत भन्छन्, ‘आउन नभ्याउने अभिभावकलाई कक्षा शिक्षकले फोन गरेर कुराकानी गर्नुहुन्छ। बच्चाको प्रगतिको लागि विद्यालय र अभिभावकले मिलेर के गर्न सकिन्छ भनेर छलफलका लागि बोलाएको हो भन्ने महसुस गराएका छौँ। उहाँहरू खुसी हुनुहुन्छ। अभिभावकलाई नजिक बनाउन लामो समयदेखि प्रयास गरिएको हो।’

सानै कक्षादेखि विद्यार्थीको न्यूनतम सिकाइलाई ध्यान दिने र प्रअ, शिक्षक तथा अभिभावक मिलेर शैक्षिक सत्रको सुरुवातमा वार्षिक योजना बनाउने हो भने नतिजा राम्रो आउने उनको ठम्याइ छ। 

उनी भन्छन् ‘यसतर्फ ध्यान नदिई कक्षा १० मा ६ महिना बितेपछि बिहानदेखि रातिसम्म पढाएर हुँदैन। तल राम्ररी नसिकेका विद्यार्थी कक्षा १० मा पुग्दा न राम्ररी बुझ्न सक्छन्। न नबुझेको सोध्न सक्छन्। हीनताबोध गर्छन्। यस्तो अवस्थामा पुग्नु उनीहरूको दोष होइन।’ 

प्रअ राउतका अनुसार विद्यालयमा हाल साढे १२ सय विद्यार्थी छन्। २० प्रतिशत स्थानीय विद्यार्थी छन्। ८० प्रतिशत विभिन्न ६० जिल्लाका छन्। अभिभावकसँग छलफल गरी विद्यालयले वार्षिक सहयोग लिने गरेको छ। 

‘तल्लो कक्षामा वार्षिक एकहजार रूपैयाँ लिने गरेका छौँ। कक्षा १० मा वार्षिक तीन हजार दुई सय रूपैयाँ लिने गरिएको छ। निजी श्रोतका शिक्षक व्यवस्थापन, बाल विकास केन्द्रमा सहयोगी लगायत अन्य कर्मचारी व्यवस्थापनमा खर्च हुन्छ,’ उनले सुनाए।

उनको भनाइमा कक्षा १० मा पुग्ने विद्यार्थीमध्ये ५० प्रतिशत विद्यार्थी शिशु कक्षादेखि बलम्बुमा नै पढ्ने  हुन्छन्। बाँकी विभिन्न जिल्लाका सामुदायिक विद्यालयबाट आउने विद्यार्थी हुन्। निजीबाट आउने साह्रै कम हुन्छन्।

‘हामी प्रवेश परीक्षाबाट छानेर उत्कृष्ट विद्यार्थी भर्ना गर्दैैनौँ। सुरुमा जो आउँछन्, खाली सिटमा उनलाई लिन्छौँ। वैशाख महिनाभरि नै भर्ना लिन्छौँ। भर्ना आउनेको संख्या बढी भए पनि लिन सकिने अवस्था छैन। विद्यालयको आफ्नो जग्गा छैन। पूर्वाधार पुग्दैन,’ उनले प्रष्ट पारे। 

निरन्तर उत्कृष्ट नतिजा आउनुमा विद्यालय सुधारका लागि स्रोत खोज्नेदेखि सुधार योजनामा सुझाव तथा सरसल्लाह दिने विद्यालय व्यवस्थापन समितिको पनि साथ सहयोग रहेको उनको भनाइ छ। 

बलम्बु माविले प्रअ राउतको नेतृत्वमा डेढ दशकदेखि लगातार कक्षा १० को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। उनी २०६४ सालमा विद्यालयका प्रअ नियुक्त भएका हुन्। उनले दिएको जानकारीअनुसार २०६५ र २०६७ मा एसएलसीमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याई शिक्षा मन्त्रालयबाट राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न विद्यालय सफल भएको थियो।  यस्तै विद्यालयले २०६६, २०६८ र २०७० सालमा मध्यमाञ्चल क्षेत्रीय पुरस्कार पाएको थियो। 

‘राष्ट्रिय शिक्षा दिवस २०७१ को उपलक्ष्यमा पछिल्लो तीन वर्षको एसएलसी परीक्षामा शत प्रतिशत नतिजा ल्याई उत्कृष्ट विद्यालयका रूपमा शिक्षा मन्त्रालयबाट सम्मान पायौँ,’ प्रअ राउत भन्छन्, ‘शैक्षिक सत्र २०७५ र २०७९ एसईई परीक्षाको नतिजा अनुसार बागमती प्रदेश सरकारबाट प्रदेशको उत्कृष्ट ५ सामुदायिक विद्यालयहरूमा पर्न सफल भएका थियौँ।’  

बलम्बु माविका प्रधानाध्यापक सुमन राउतसँग नेपालखबरले गरेको भिडिओ कुराकानी :

असार ३१, २०८१ सोमबार २१:३४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .