ad ad

समाज


अध्ययन भन्छ : पृथ्वीको भित्री भाग उल्टो दिशामा घुमिरहेको देखिन्छ!

अध्ययन भन्छ : पृथ्वीको भित्री भाग उल्टो दिशामा घुमिरहेको देखिन्छ!

पृथ्वीको आन्तरिक संरचना (प्रतीकात्मक चित्र)


नेपालखबर
साउन १, २०८१ मंगलबार २०:५०, काठमाडौँ

पछिल्ला केही वर्षमा पृथ्वीको सतह र अन्तरिक्षबारे धेरै अनुसन्धान भएका छन्।

त्यसो त विज्ञान र प्रविधिको यो युगमा चन्द्रमा र मंगल ग्रहमा मानव बस्ती बसाल्ने कुरासमेत भइरहेका छन्। तर पृथ्वीकै मूल (भित्री भाग) बारे भने अझ धेरै कुरा रहस्यमै छन्। विज्ञानले पनि सुल्झाउन सकेको छैन। 

यसको कारण के हो भने पृथ्वीको केन्द्रबिन्दु झन्डै ५००० किलोमिटर गहिराइमा छ। तर विज्ञानले आजसम्म यसको १२ किलोमिटरभित्रसम्मको जानकारी मात्र उपलब्ध गराउन सकेको छ। 

यसैबीच क्यालिफोर्निया विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सेजका वैज्ञानिकहरूको टोलीले पृथ्वीको सतहको तुलनामा भित्री भाग (कोर) बिस्तारै बिस्तारै विपरीत दिशामा घुम्ने गरेको पत्ता लगाएको छ। 

वैज्ञानिकहरूको टोलीले अध्ययनले सन् २०१० यता पछिल्लो १४ वर्षमा पृथ्वीको कोर घुम्ने गति घट्दै गएको देखाएको बताएको छ। 

तर ५ हजार किलोमिटर गहिराइमा रहेको पृथ्वीको कोरमा नपुगी वैज्ञानिकहरू यो निष्कर्षमा कसरी पुगे त? 

अनि यसरी पृथ्वीको कोर विपरीत दिशामा घुम्दा सतहमा कुनै असर पर्छ?

पृथ्वीको संरचना
वैज्ञानिकहरूले पृथ्वीको संरचनालाई तीन तहमा विभाजन गरेका छन्। जसअनुसार पृथ्वीका क्रस्ट अर्थात् बाहिरी सतह, मेन्टल अर्थात् सतह र कोरबीचको चट्टान तह र कोर अर्थात् केन्द्र भाग छन्। 

अहिलेसम्म पृथ्वीको कोर अर्थात् केन्द्र भागका विषयमा धेरै किसिमका धारणा छन्। 

यसबारे काल्पनिक कथा पनि धेरै छन्। पृथ्वीको कोरमै आधारित सन् १८६४ मा प्रकाशित उपन्यास ‘जर्नी टु द सेन्टर अफ द अर्थ’ र त्यसमा आधारित फिल्म निकै लोकप्रिय छन्। 

यसलाई सजिलो तरिकाले बुझ्न हामी पृथ्वीलाई अन्डासँग तुलना गर्न सक्छौँ।

अन्डाको बाहिरी खोल पृथ्वीको सतह वा क्रस्ट, त्यसभन्दा मुनिको सेतो तरल पदार्थ मेन्टल र अन्डाको गुदी (पहेँलो भाग) कोर हुन्।

पृथ्वीको भित्री भाग अर्थात् कोर फलाम र निकलले बनेको छ भने आकारमा गोलो छ। 

यसको अर्धव्यास १२२१ किमि छ भने तापमान तापक्रम ५४०० डिग्री सेल्सियस छ, यो भनेको लगभग सूर्यको तापक्रम (५७०० डिग्री सेल्सियस) बराबर हो।

विगतमा गरिएका अध्ययनले के देखाएका छन् भने यो कोर पृथ्वीको बाँकी भागभन्दा फरक छ। यो धातुको तरल पदार्थमार्फत पृथ्वीभित्र स्वतन्त्र रूपमा सञ्चालन हुन्छ।  

अर्थात्, यो (कोर) पृथ्वीभित्र स्वतन्त्र रूपमा घुम्छ र यस क्रममा पृथ्वीका बाँकी भागसँग यसको कुनै सम्बन्ध नहुने बताइन्छ। 

तर हालैको अध्ययनले झण्डै ४० वर्षमा पहिलोपटक पृथ्वीको बाहिरी सतहको तुलनामा कोर विपरीत दिशामा घुमिरहेको देखाएको छ। यस क्रममा कोर पृथ्वीको मेन्टल अर्थात् मध्यभाग भन्दा अलि ढिलो घुमिरहेको छ।

पृथ्वी नखनी कसरी पाइन्छ जानकारी? 
वैज्ञानिकहरूका अनुसार भूकम्पका बेला उत्पन्न हुने तरंगमार्फत पृथ्वीको कोर अर्थात् केन्द्रबारे जमिन नखनीकन पनि जानकारी प्राप्त गर्न सकिन्छ।

जब पृथ्वीको सतहमा ठूला भूकम्प आउँछन्, त्यतिबेला उथलपुथलबाट उत्पन्न हुने तरंगको ऊर्जा भित्रीको कोरमा पुग्छ र फेरि सतहमा फर्किन्छ। 

वैज्ञानिकहरूको एक टोलीले पृथ्वीको गहिराइमा पुग्ने र फेरि सतहमा फर्कने त्यस ऊर्जाको मार्गबारे अनुसन्धान गर्‍यो। 

यसका लागि वैज्ञानिकहरूले सन् १९९१ देखि २०२३ को बीचमा साउथ स्यान्डविच टापुवरपर रेकर्ड गरिएका १२१ भूकम्पबाट तथ्यांक संकलन र विश्लेषण गरेका थिए।

त्यति मात्र होइन, उनीहरूले अध्ययनका लागि सन् १९७१ र १९७४ बीचको सोभियत आणविक परीक्षणका साथै फ्रान्सेली र अमेरिकी आणविक परीक्षणका तथ्यांक पनि प्रयोग गरे। 

पृथ्वीको कोर उल्टो दिशामा घुम्छ?
इन्डियन इन्स्टिच्युट अफ साइन्स एजुकेसन एन्ड रिसर्च (आईआईएसईआर-मोहाली) का प्रोफेसर टीभी वेंकटेस्वरनका अनुसार पृथ्वीको कोर वास्तवमै उल्टो दिशामा घुम्छ भन्न सकिन्न। यसलाई एउटा साधारण उदाहरणमार्फत बुझ्न सकिन्छ।

प्रोफेसर टीभी वेंकटेस्वरन

तपाईं कार प्रतिघण्टा १०० किलोमिटर गतिमा चलाइरहनुभएको छ, तपाईंको साथीले पनि आफ्नो कार प्रतिघण्टा १०० किलोमिटरकै गतिमा तपाईंसँगै कुदाइरहेका छन्। तर तपाईंको साथीले अचानक कारको गति घटाएर प्रतिघण्टा ८० किमिमा झारे। 

अब तपाईंले हेर्दा साथीको कार पछाडि गइरहेको जस्तो लाग्छ किनकि तपाईं अहिले पनि आफ्नो कार प्रतिघण्टा १०० किलोमिटरको गतिमा चलाइरहनुभएको छ। 

ठीक त्यसैगरी कोर पृथ्वीको परिक्रमा गतिको तुलनामा सुस्त हुँदै गएको छ, र यसलाई उल्टो दिशामा घुमिरहेको मानिन्छ। 

यसैगरी उक्त अध्ययनको निष्कर्ष पनि काल्पनिक हो। हामीले अझै पनि पृथ्वीको मूल भागलाई पूर्ण रूपमा बुझ्न सकेका छैनौँ।

यहाँसम्म कि कोरको आकार पनि तथ्यांकबाट अनुमान गरिएको छ। कारण के हो भने हामी ५ हजार किलोमिटर गहिराइमा पुग्न सक्दैनौँ। भूकम्पीय तथ्यांकमार्फत वैज्ञानिकहरू कोरको घुम्ने गति घटेको निष्कर्षमा पुगेका हुन्, जुन भविष्यमा परिवर्तन हुन सक्छ।

नतिजा के आयो त? 
प्रोफेसर टीभी वेंकटेस्वरनका अनुसार पृथ्वीको कोरको घुम्ने गति कम हुँदा म्याग्नेटोस्फियर (चुम्बकीय क्षेत्र) मा परिवर्तन आउँछ।

म्याग्नेटोस्फियर भनेको ग्रहका चारैतिरको क्षेत्र हो, जसमा ग्रहको चुम्बकीय क्षेत्रको प्रभुत्व हुन्छ। 

प्रोफेसर वेंकटेस्वरन भन्छन्, ‘कोर फलाम र निकल जस्ता धातुबाट बनेको हुन्छ। त्यसैले जब यसको परिक्रमा प्रभावित हुन्छ, तब यसले पृथ्वीको सतहमा परिवर्तन ल्याउँछ।’

उनी थप्छन्, ‘यी परिवर्तनमा चुम्बकीय क्षेत्र एक महत्त्वपूर्ण कारक हो। जब पृथ्वी ब्रह्माण्डमा आफ्नो कक्षमा परिक्रमा गरिरहेको हुन्छ, तब पृथ्वीभित्रको धातुले बनेको यसको कोर पनि घुमिरहेको हुन्छ।

यी दुवै गतिका कारण चुम्बकीय शक्ति उत्पन्न हुन्छ, यो पृथ्वीको वरिपरि बनेको चुम्बकीय क्षेत्र हो।’

यस चुम्बकीय क्षेत्रको विकिरण (रेडिएसन) ले पृथ्वीलाई सूर्यबाट जोगाउन ढालका रूपमा काम गर्छ। तर सँगसँगै यो चुम्बकीय क्षेत्रले पृथ्वीको परिक्रमाको समयमा पनि परिवर्तन ल्याउन सक्छ। यसको अर्थ हाम्रो दिनको लम्बाइ निर्धारण गर्न चुम्बकीय क्षेत्रले पनि भूमिका खेल्छ।

वेंकटेस्वरन भन्छन्, ‘तर यसको प्रभाव धेरै छैन। यसले एक दिनको अवधिमा एक माइक्रोसेकेन्डसम्मको परिवर्तन ल्याउन सक्छ। यो हामीसँग भएको तथ्यांकमा आधारित छ।’

प्रोफेसर वेंकटेस्वरन यो परिवर्तनका लागि कोरको परिक्रमा गति बढी जिम्मेवार हुने बताउँछन्।

उनी भन्छन्, ‘र, भविष्यमा थप अनुसन्धान गर्न आवश्यक छ।’ बीबीसी हिन्दीबाट भावानुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .