नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अर्को मुद्दा दायर भएको छ।
नेपालका सरकारी निकायमा बसेर सूचना प्रविधि क्षेत्रको खरिदमा घुस तथा कमिसनको जालो फैलाएको आरोप लागेका पौडेलविरुद्ध अहिले राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोलेको अभियोगमा विभागले पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १६ मा नेपालमा बसोवास गर्ने कुनै पनि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कुनै कम्पनी, संगठित संस्था वा फर्मले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ।
जिल्ला तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३१ शान्तिनगर बस्ने ४४ वर्षीय पौडेलको सिंगापुरको बैंक खातामा ५८ हजार अमेरिकी डलर भेटिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा छानबिन गर्ने क्रममा यो तथ्य फेला परेको थियो।
विभागले ५८ हजार अमेरिकी डलरको हिसाबले हुन आउने ७७ लाख ४५ हजार ९ सय रूपैयाँ बिगो कायम गरी त्यसको तेब्बर रकम जरिवाना गर्नुपर्ने मागदाबी अदालतमा गरेको छ। पौडेल दोषी ठहर भएमा उनीबाट २ करोड ३२ लाख ३७ हजार रूपैयाँ जरिवाना असुल गर्नुपर्नेछ।
अख्तियारको छानबिनअनुसार, पौडेलले नेपालका सार्वजनिक निकायमा खरिद हुने सूचना प्रविधिसम्बन्धी ठेक्कावापत् सिंगापुरको बैंक खातामा घुस र कमिसन जम्मा गर्न लगाउने गरेका थिए।
अख्तियारले उनका विरूद्ध विशेष अदालतमा ३ वटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। तीमध्ये एउटामा दोषी ठहर भइसकेका छन् भने २ वटा मुद्दा विचाराधीन छन्।
काठमाडौँ प्रहरीले उनीमाथि लिखतसम्बन्धी कसुर (किर्ते)मा पनि अनुसन्धान गरिरहेको छ। उनले करचुक्तासम्बन्धी कागजात नक्कली बनाएको फेला परेपछि अख्तियारले नै प्रहरीलाई थप अनुसन्धान गर्न पठाइदिएको हो।
पौडेलविरुद्ध अख्तियारले नै थप प्रकरणहरूमा अनुसन्धान गरिरहेकै छ।
सम्बन्धित खबरः
-
नेपालमा सरकारी पदमा बसेर सुनील पौडेलको ठेक्का कारोबार, सिंगापुरको बैंकमा १३ करोड घूस
-
सिंगापुरको चाङ्गी एयरपोर्टमा सुनील पौडेलको सपिङ : सेतो सुनको गहना मात्र ४० लाखको
-
भ्रष्टाचारमा सुनील पौडेल शैली : नेपालमा ठेक्का, सिंगापुरमा कमिसन
-
सुनील पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा, २३ करोडको अवैध सम्पत्ति रहेको निष्कर्ष
-
पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेल भ्रष्टाचारी ठहर, सचिव मधु मरासिनीलाई सफाइ
-
सुनील पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने
Shares
प्रतिक्रिया